कोरोनाको खोप आयो, नाटक र नौटङ्कीको खोप कहिले ?

 माघ १७, २०७७ शनिबार १०:३६:२० | मिलन तिमिल्सिना
unn.prixa.net

अस्तिताकासम्म कोरोना मात्रैको डर थियो । कोरोनाकै जगजगी थियो । तर अहिले कोरोनालाई माथ खुवाउने गरी नाटक र नौटङ्कीको जगजगी हुन थालेको छ । छिनमै नाटक, छिनमै नौटङ्की । दिनरात नाटक र नौटङ्की हेर्दा हेर्दा, भोग्दा भोग्दा मान्छे वाक्कदिक्क मात्रै होइन मानसिक रोगी नै बन्न थाले ।

कोरोनाको त बिस्तारै बानी पर्न थालेको थियो । भाइरसलाई छलेर, झुक्याएर, पेलेर हिँडडुल गर्न पाइएको थियो । तर नाटक र नौटङ्कीलाई त छल्न पनि गाह्रो, भुल्न पनि गाह्रो, झुक्याउन पनि गाह्रो, अँठ्याउन पनि साह्रो । एक दिन एउटाले नाटक देखाउँछ, अर्कोदिन अर्कोले नौटङ्की देखाउँछ । कहिले नाटक तगडाको, कहिले नौटङ्की झकासको । नाटकभन्दा नौटङ्की हेरिनसक्नुको । नाटकभन्दा नौटङ्की भोगिनसक्नुको ।

कोरोनाको खेला नसकिँदै नाटक र नौटङ्कीको खेल सुरु भएको हो । नाटक र नौटङ्कीले कोरोनालाई लतार्न थालेकै बेला कोरोनाको खोप आयो । अहिले धमाधम कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । तर कोरोना नै नभएजस्तो, कोरोनालाई पराजित गरेजस्तो, कोरोना केही होइन भन्ने भइसकेको, जुलुस र प्रदर्शनले कोरोना भगाउन सकिन्छ भन्ने ठानिसकेको बेला आएको खोपको के अर्थ ? 

खोप लगाए पनि अलिअलि सङ्क्रमण, नलगाए पनि अलिअलि सङ्क्रमण । न खोप लगाउँदैमा कोरोना च्वाट्टै सकिने, न खोप नलगाउँदैमा कोरोना ह्वात्तै बढ्ने । त्यति धेरै वास्तै नभएको बेला आएको खोपले खासै भाउ पाउन सकेको छैन । अहिले कोरानाको भन्दा पनि नाटक र नौटङ्कीविरुद्धको खोप आवश्यक भएको छ।

जसले जुन प्रसङ्ग जेसुकै भनेको होओस्, टिकटके र फेसबुकेले स्थापित गरिसके कि-सेरोफेरो सबै मेरो भन्दै जुधिरहेका ओली र प्रचण्डबीच नाटक कि नौटङ्की भनेर घमासान दोहोरी चलिरहेको छ । अन्तहीनजस्तै लाग्ने यो दोहोरी कहिले कहाँ पुगेर सकिने हो पत्तो छैन । प्रचण्ड मच्चीमच्ची भन्छन् : यो नाटकै हो । ओली उफ्रीउफ्री उत्तर दिन्छन् : यो नौटङ्की नै हो । वास्तवमा यो नाटक हो कि नौटङ्की हो भन्ने बुझ्न नसकेर धेरैले धेरै थरी प्रयोग गरिरहेका छन् ।

कोही टिकटकमा झोलुंगे पुलबाट हेल्मेट फालेर नाटक हो कि नौटङ्की भनेर उत्तर खोज्दैछन् । कोही भर्‍याङ र लिफ्टमा तलमाथि गर्दै जुत्ता खोल्दै र फाल्दै नाटक कि नौटङ्की भनेर अल्मलिँदैछन् । कोही नाच्दै, कोही मुख बङ्ग्याउँदै, कोही आफैंले आफैंलाई भुतल्दै, कोही अर्कोलाई मुड्की ताक्दै ‘यो नाटकै हो’, ‘यो नौटङ्की नै हो’ भनेर सवालजवाफ गर्दैछन् । कसैले त गीत नै बनाएर नाटक र नौटङ्कीमा छमछमी नाच्न पनि थालिसके ।

फेसबुक र ट्वीटरतिर भिडियो हेर्दा लाग्छ, नाटक र नौटङ्कीकै कारण धेरै पागल बन्दैछन् । धेरै बेहाल हुँदैछन् । सर्वोच्चले चुनाव कि संसद पुनस्र्थापना भनेर फैसला गर्ने बेलासम्म कोही पनि सद्दे नहोला कि भन्ने चिन्ता बढ्दैछ । नाटक र नौटङ्कीका जननी, दार्शनिक र विश्लेषकहरुले यसबारे हेँक्कै राखेका छैनन् । कोरोनासँगै नाटक र नौटङ्कीविरुद्धको खोप लगाउन नथाले नाटक र नौटङ्कीको सङ्क्रमणले सबैलाई थला पार्ने निश्चित छ ।

नाटक र नौटङ्कीविरुद्धको खोप कहाँबाट कसरी ल्याउने त ? धेरैलाई लाग्ला कोरोनाको खोप पनि भारतबाटै आयो, त्यसैले नाटक र नौटङ्कीविरुद्धको खोप पनि भारतबाटै ल्याउँदा राम्रो । तर होइन, भारतबाटै ल्याइएको सोच र व्यवहारको परिणाम नै नाटक र नौटङ्की हो भन्ने घामजत्तिकै छर्लङ्ग छ । नाटक र नौटङ्की गर्नेले अहिले देखाइरहेको व्यवहार र बोली स्वदेशी उत्पादन त हुँदै होइन । यसमा विदेश, त्यसमा पनि भारतको गन्ध ह्वास्सै आएको कुरा सबैको नाकले थाहा पाइसकेको छ । 

ह्वासह्वासी र डुङडुङ गन्हाइरहेको नाटक र नौटङ्कीको खेलबाट नाक जोगाउन ढिलो भैसक्यो । त्यसविरुद्ध स्वदेशमै खोप बनाएर लगाउन अबेला भैसक्यो । ‘यो नाटकै हो’ भन्नेलाई लाग्न सक्छ, संसद पुनःस्थापनाको खोप लगाउँदा नौटङ्की ठिक हुन्छ । अनि ‘यो नौटङ्की नै हो’ भन्नेलाई लाग्न सक्छ चुनावको खोप लगाउँदा नाटक ठिक हुन्छ । तर दुईवटै खोपसँगै उत्पादन गरेर लगाउन त सम्भव छैन । नाटक र नौटङ्की दुवैलाई ठिक पार्ने एउटै खोप चाहिन्छ ।

‘यो नाटकै हो’ भन्दै सडकमा नौटङ्की देखाउने र ‘यो नौटङ्की नै हो’ भनेर सरकारमा नाटक देखाउनेको व्यवहार ठिक पार्ने खोप के होला त ? ठ्याक्कै यही हो भनेर मैले चाहिँ ठम्याउन सकिनँ । तपाईँले ठम्याउन सक्नुहुन्छ भने सोच्दै गर्नुहोस् । त्यतिबेलासम्मको लागि फेसबुक र टिकटकमा नाटक र नौटङ्कीको जुहारी हेरेर रमाइलो गरौं । नाटक र नौटङ्की देखाउनेको हो मा हो मिलाउँदै, उफ्रँदै, सिठी र ताली बजाउँदै रमाउन त तपाईं र मलाई पनि मज्जै लाग्छ नि हैन र ?

अन्तिम अपडेट: बैशाख ६, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया