अनुसन्धान विभागका कर्मचारी हत्या प्रकरण : ‘साथीको हेल्मेट माग्दा चिर्पटले हानेर हत्या’

 माघ २१, २०७७ बुधबार १५:५१:१९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – राष्ट्रिय अनुसन्धान विभागकाे जिल्ला कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्यामा संलग्न सात जनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरि मगरको हत्यामा संलग्न सात जनालाई पक्राउ गरि बुधवार सार्वजनिक गरिएकाे हाे ।

मगरको माघ २ गते नेपालगञ्ज उप–महानगरपालिका १८ सुर्जीगाउँकाे राम सेवक खटिकको तोरीबारीमा हत्या गरिएको अवस्थामा शव भेटिएकाे थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाका अनुसार घटनामा संलग्न नेपालगञ्ज १८ लग्दहवाका २४ वर्षीय कर्की भनिने दिनेशकुमार कुर्मी (बर्मा), सुर्खेतकाे गुर्भाकोट १४ गुमी घर भइ नेपालगञ्ज १८ बस्ने १९ वर्षीय निश्चल गुरुङ, जाजरकोटकाे जुनेचाँदी ७ दह घर भइ नेपालगञ्ज ४ बसपार्क बस्ने २१ वर्षीय तेज मगर भनिने तेजबहादुर बीएमलाई पक्राउ गरिएकाे छ ।

यसैगरी  नेपालगञ्ज ६ फुल्टेक्राका १७ वर्षीय बालक, नेपालगञ्ज ५ बसपार्कका १६ वर्षीय बालक र बाँकेको राप्तीसोनारी १ कुसुम घर भइ नेपालगञ्ज ४ गणेशपुर बस्ने १७ वर्षीय बालक तथा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भइ नेपालगञ्ज २ घरबारीटोल बस्ने १६ वर्षीय बालकलाई पक्राउ गरिएको छ ।

घटनास्थल नजिकैको कालिकामाई मन्दिर बगैँचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोबार गर्ने ठाउँकाे रूपमा रहेको हुँदा सहायक सूचक मगर सूचना सङ्कलनका लागि साथी दिनेशकुमार कुर्मीसँगै गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटना भएपछि मृतकका साथी कुर्मीले मृतकलाई बचाउन कुनै प्रतिकार नगरेको, घटनापछि भागेको र घटनाका बारेमा घरपरिवार तथा प्रहरी प्रशासनमा जानकारी नगराएको पाइएको जनाइएको छ ।

पक्राउ परेका कुर्मीबाहेक अन्य ६ जना गाँजा सेवनका लागि माघ १ गते ६ बजेतिर बगैँचामा पुगेको अनुसन्धानबाट खुल्न आएकाे प्रहरीले जनाएकाे छ । मृतक मगर र उनका साथी कुर्मी मोटरसाइकल रोकि एक सय मिटर टाढा रहेका थिए ।

गाँजा सेवनपछि घर जाने क्रममा विवेक परियारले मृतकका साथी कुर्मीको मोटरसाइकलमा रहेको हेल्मेटकाे फोटो खिचेर उठाइ लिएर गएपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ ।

साथीको हेल्मेट माग्न पुगेका सहायक सूचक मगरलाई नजिकै रहेको तारबारमा प्रयोग भएको चिर्पट दाउराले टाउको, निधारको भाग, खुट्टा तथा शरीरको अन्य भागमा प्रहार गरि साथमा रहेको मोबाइल लिएर गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया