दाङमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गयाे

 माघ २४, २०७७ शनिबार १३:४३:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा ट्र्याक्टरको ठक्करबाट एउटै मोटरसाइकलमा रहेका तीन जनामध्ये दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।  

दुर्घटनामा परेका दंगिशरण गाउँपालिका-३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको उपचारका क्रममा कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यही मोटरसाइकलमा रहेका दंगिशरण ३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल भने घाइते हुनुभएकाे छ । उहाँको पनि कोहलपुरमा उपचार भइरहेको छ ।

शुक्रवार राति सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरकाे ट्र्याक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प १४३४ नम्बरकाे मोटरसाइकललाई दंगिशरण ५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

दुर्घटनापछि घाइतेलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि तीनै जनालाई गएराति नै बाँकेमा रहेकाे कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया