विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन गर्नुपर्छ : सञ्चार मन्त्री गुरुङ

 माघ २५, २०७७ आइतबार १६:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरूलाई तालिमको आवश्यकता रहेको बताउनुभएको छ ।

आइतबार काठमाण्डौमा आमसञ्चार र श्रमजीवी पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्नु हुँदै मन्त्री गुरुङले पत्रकारहरूलाई तालिमको आवश्यकता रहेको बताउनुभएको हो । तालिम प्राप्त पत्रकार नहुँदा विकृति, विसङ्गति जन्मिएको भन्दै उहाँले पत्रकारहरूका लागि तालिम केन्द्रको विकास नगरि पत्रकारिता क्षेत्रको गुणस्तर नहुने बताउनुभयो ।

आफ्नो योग्यता, क्षमता र गुणस्तरविना बजारमा बिक्री हुन्नाैँ भन्ने हेक्का पत्रकारहरूले राख्नुपर्ने उहाँको भनाइ छ । उहाँले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकारहरूका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताउनुभयो । उहाँले अनलाइन नवीकरणका लागि जिल्ला हुलाक कार्यालयबाट हुने गरि नीतिगत निर्णय गरिएको भए पनि हुलाकका कर्मचारी दक्ष नहुँदा प्रभावकारी नभएको बताउनुभयो । पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नवीकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उहाँको भनाइ छ ।

उहाँले पत्रकारको समस्या समाधानका लागि प्याकेज बनाएर अघि बढ्ने बताउनुभयो । पत्रकारहरूका लागि कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोपको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया