सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु : बलात्कारकाे घटनामा सरकार गम्भीर देखिएन : सांसद

 माघ २६, २०७७ सोमबार १९:२७:५५ | सीताराम ओझा
unn.prixa.net

फाइल तस्बिर

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सोमवारदेखि सुरु भएको छ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेश सभाको बैठक सुरु भएको हो । ६ महिना बित्नै लाग्दा सोमबार आह्वान गरिएको प्रदेश सभाको सातौँ अधिवेशनको प्रथम बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरूले बलात्कारकाे घटनालाई सरकारले गम्भीरताका साथ नलिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य नेता लीलाधर भट्टले बैठकको सुरुमै आफ्नो बेञ्चबाट बोल्दै घटनाको अनुसन्धान तथा छानबिनप्रति प्रदेश सरकारले ध्यान नदिएको भन्दै विरोध जनाउनुभयाे । घटना घटेको ६ दिन बित्दासमेत प्रदेश सरकारका प्रतिनिधिहरू पुग्न नसक्नुका साथै विज्ञप्ति निकाल्नसमेत नसकेको उहाँको भनाइ थियो ।

बैठकको विशेष समयमा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले भागरथी प्रकरणको अनुसन्धान नितान्त केन्द्रीय सरकारमा निहित देखिएको बताउनुभयाे । सबै अधिकार आफ्नै हातमा लिएकाले बलात्कारका घटना दिन प्रतिदिन बढिरहेको र अपराधीहरू खुलेआम घुमिरहेको भन्दै गुनासाे गर्नुभयाे ।    

नेपाली काँग्रेसको संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले पनि घटना घटेको ६ दिन बित्दासमेत घटनाबारे सत्य/तथ्य बाहिर नआएकाे भन्दै दुःख व्यक्त गर्नुभयाे । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा जस्तै अहिले भागरथी प्रकरणमा पनि सरकार चुकिरहेको भन्दै उहाँले सुदूरपश्चिम प्रदेश बलात्कारीहरूले दिन प्रतिदिन प्रशय पाउने ठाउँ जस्तै बनेको भन्दै आक्राेश पोख्नुभयाे ।

प्रदेश सरकार तथा सङ्घीय सरकार अहिले सभा, समारोहमै व्यस्त भएको रावलको भनाइ थियो । जनता समाजवादी पार्टीको संसदीय दलको नेता कृष्णबहादुर चौधरीले पनि बैतडी घटनामा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउन माग गर्नुभयाे ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया