‘निर्मला र भागरथी प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउँछौ’

 माघ २६, २०७७ सोमबार २०:३२:५९ | सीताराम ओझा
unn.prixa.net

धनगढी – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएकाे पाँच दिन भइसकेको छ । भागरथी हराएकाे ६ दिन र मृत अवस्थामा भेटिएकाे पाँच दिन बितिसक्दा पनि दाेषी पत्ता लागेको छैन ।

मृतकका परिवारले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् । झण्डै साढे दुई वर्षअघि कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान गर्न सकेको थिएन र अहिलेसम्म दोषी पक्राउ परेका छैनन् । भागरथीको घटनामा संलग्न पनि उम्केलान् भन्ने चिन्ता धेरैमा छ । तर सुदूरपश्चिम प्रहरीले भने दोषीलाई दण्डित गर्न अनुसन्धानको दायरा साँघुरो बनाइसकेको जनाएको छ । यसै विषयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहसँग कुराकानी गरेका छौँ ।  

भागरथी भट्टको शव भेटिएको पाँच दिन भइसकेको छ । प्रहरीको अनुसन्धानले के भन्छ ? 

बिहीवार राति भागरथी मृत फेला परेकी हुन् । त्यो दिनेखि नै प्रहरी संवेदनशील भएर घटनाको अनुसन्धानमा जुटेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) नै अनुसन्धान अधिकृत भएर काम गरिरहनुभएकाे छ । उहाँलाई सघाउन नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डेय र सीआईबीका डीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली बैतडीमा छ । सुदूरपश्चिमका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदी पनि बैतडी पुग्नुभएको छ । हामी अनुसन्धानको दायरा साँघुरो बनाइरहेका छौँ । छिट्टै दोषीलाई कानुनी दायरामा ल्याउँछौ ।  

पाेस्टमार्टमको रिपोर्टले के देखाउँछ ? बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको हो ? 

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका थियौँ । आज रिपोर्ट प्राप्त भएको छ । डाक्टरबाट आएको रिर्पोटमा बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ । अर्कोतर्फ हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौँ । प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ । 

'क्राइम सिन' हेर्दा के देखाउँछ ? 

प्रहरीले क्राइम सिनको अध्ययन र विश्लेषण पनि गरेको छ । तर क्राइम सिनको अध्ययनले मात्रै अनुसन्धान पूर्ण हुँदैन । 'कज अफ डेथ' पाेस्टमार्टम रिपोर्टले भन्ने हो । त्यसैले डाक्टरको रिपोर्ट हामी पनि पर्खिरहेका छौँ । 

घटनास्थलमा भागरथीले प्रयोग गर्दै आएको मोबाइईल फेला परेको थियो । मोबाइलमा केही ‘क्लू’ भेटिएन ? 

मोबाइलमा फेला परेका प्रमाणका आधारमा हामीले धेरै व्यक्तिसँग सोधपुछ गरेका छौँ । अहिले नै कसैलाई पक्राउ नगरे पनि सोधपुछका लागि दर्जन बढी व्यक्तिलाई ल्याएका थियौँ । यसले पनि अनुसन्धानमा सजिलो भएको छ । शङ्कास्पद व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएका छौँ ।  

भागरथीको पनि कतै निर्मलाको जस्तो हविगत त हुँदैन भन्ने आशङ्का पनि छ नि ? 

निर्मलापछि र निर्मलाअघि थुप्रै दुःखद घटना घटे । ढिलो अवश्य भएको हो तर निर्मला पन्तका दोषीलाई पनि हामी कानुनी दायरामा ल्याउँछौ । निर्मला प्रकरणमा अहिले पनि अनुसन्धान भइरहेको छ । त्यो समयमा प्रहरीले समाजबाट फ्लेवर नपाउँदा अनुसन्धानमा केही समस्या भएको हो । निर्मला घटनापछि पनि दुःखद घटना घटे, कतिपयमा प्रहरी सफल भयो त केही घटनामा प्रहरीको अनुसन्धान जारी छ । त्यसैले प्रत्येक घटनामा असफलतालाई मात्रै सम्झिनुभन्दा प्रहरी सफल भएका घटनालाई पनि हेर्न आवश्यक छ । त्यसैले भागरथीको घटनामा पनि प्रहरी सफल हुन्छ । ढुक्क भए हुन्छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया