कफीको बिरुवाले फेरिएको जिन्दगी !

 माघ २७, २०७७ मंगलबार १३:५९:२२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – व्यावसायिक कफी उत्पादक किसान हुनुहुन्छ, लमजुङको दोर्दी गाउँपालिका १ को झघरेका मोहनसिंह गुरुङ । उहाँले गएको आठ वर्षदेखि व्यावसायिक कफी खेती गर्दै आउनुभएको छ । 

रहरै–रहरमा उहाँले एउटा कफीको बिरुवा ल्याएर घर नजिकैको जग्गामा सार्नुभयो । तीन वर्षपछि कफी फल्न थाल्यो । त्यसपछि उहाँको कफी खेतीमा ‘चाह’ बढ्दै गयो । ‘सुरुमा एउटा कफीको बेर्ना ल्याएर सारेको थिएँ । तीन वर्षपछि कफी फल्न थाल्यो’, उहाँले भन्नुभयो, ‘सुरुमा रहरैमा कफी लगाएँ । कफी राम्रो फल्न थालेपछि यसबाट राम्रो कमाउन सकिन्छ भन्ने लाग्यो र कफी खेती विस्तार गरेँ ।’ 

उहाँले अहिले आफ्नो ६ रोपनी जग्गामा सात सय कफीका बिरुवा लगाउनुभएको छ । कफी उत्पादन भइरहेको छ । 

गएको वर्षमात्रै उहाँले दुई क्विण्टल कफी उत्पादन गर्नुभएको थियो । सुरुवातका वर्षमा फलेका कफी त्यसै खेर जान्थ्यो । उहाँलाई ‘कफी बिक्री हुन्छ’ भन्ने पनि थाहा थिएन । अहिले उत्पादित कफीले राम्रो मूल्य पाउन थालेपछि उहाँ खुसी हुनुहुन्छ । 

कफीको माग र मूल्य राम्रो

बजारमा कफीको माग र मूल्य दुवै राम्रो रहेको उहाँ बताउनुहुन्छ । ‘सुरु–सुरुमा कफी लगाउँदा कफी बिक्री हुन्छ भन्ने पनि थाहा थिएन । अहिले उत्पादित कफीले उचित बजार र मूल्य पाएको छ’, उहाँ भन्नुहुन्छ ।
कफी खेतीबाट राम्रो आम्दानी भएको र यसबाट जीवन चलाउन सहज भएको उहाँ बताउनुहुन्छ । 

‘श्रम, पसिना बगाउन सके कफी खेतीबाट राम्रो कमाउन सकिन्छ । यसैबाट सहजै जीवन चलाउन सकिन्छ’, उहाँले भन्नुभयो । 

कफी खेतीमा किसानको आकर्षण 

मोहनसिंहमात्र होइन अहिले लमजुङका अन्य किसान पनि कफी खेतीमा लागेका छन् । तुलनात्मक रुपमा कम समय, श्रम र लगानीमा धेरै प्रतिफल लिन सकिने भएकाले पनि कफी खेतीमा किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो ।

‘विशेषगरि फलफूल खेती गरिएको ठाउँमा पनि फलफूल खेतीसँगै कफी खेती गर्न सकिने भएकाले र राम्रो आम्दानी लिन सकिने भएकाले कफी खेतीमा किसानको आकर्षण बढ्दै गएको छ’, कृषि अर्थविज्ञ रेग्मीले भन्नुभयो ।

एक सय ३५ हेक्टरमा कफी विस्तार : उत्पादित कफी विदेश निर्यात  

उहाँकाअनुसार लमजुङमा यस वर्ष एक सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार भएको छ । लमजुङमा यस वर्ष ८३ हेक्टर उत्पादनशील क्षेत्रबाट ६८ मेट्रिक टन कफी उत्पादन हुने अनुमान गरिएको छ । 

उहाँका अनुसार ‘कफी उत्पादक सहकारी सङ्घ’ मा आबद्ध भएर किसानहरुले कफी खेती गर्दै आएका छन् । विशेषगरि लमजुङको बेसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाका विभिन्न ठाउँमा व्यावसायिक कफी खेती हुँदै आएको उहाँले बताउनुभयो । 

‘लमजुङका सबै ठाउँमा कफी खेती हुँदै आएको छ’, उहाँले भन्नुभयो, ‘यहाँ उत्पादित कफी काठमाण्डौ, पोखरालगायतका सहरका साथै विदेशमा समेत निर्यात हुँदै आएको छ ।’

कफी खेतीको विकास र विस्तारका लागि सम्बन्धित पालिका र कृषि ज्ञान केन्द्रले सघाउँदै आएको उहाँले बताउनुभयो । लमजुङका किसानहरुले रोबास्टो, अरविका जातका कफी लगाउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया