सापटी दिएको पैसा फिर्ता नगर्दा महिलाको हत्या

 माघ ३०, २०७७ शुक्रबार १८:५९:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – दुई वर्ष पहिला लिएको सापटी रकम फिर्ता नगरेको झोकमा एक जना महिलाको हत्या भएकाे छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ की ५३ वर्षीय देवीकला घर्तीको हत्या भएको हो । 

माघ २६ गते बेपत्ता भएकी घर्ती माघ २८ गते मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले शुक्रवार घटनाबारे जानकारी गराउँदै हत्यामा संलग्न भएको आशङ्कामा स्थानीय २३ वर्षीय दीपेन्द्र पुनलाई पक्राउ गरेको जनाएको छ ।  

प्रारम्भिक अनुसन्धानका क्रममा दुई वर्ष अगाडि सापटी दिएको चार हजार रुपैयाँ फिर्ता माग्दा नदिएको झोकमा पुनले घर्तीको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टाउकोमा ढुङ्गाले हानेर घिसार्दै जङ्गलमा लगेर फालेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२६ गते दिउँसो १ बजे किनमेलका लागि स्थानीय नाउला भन्ने ठाउँमा गएको र त्यो दिन साँझसम्म घर नआइ बेपत्ता भएपछि स्थानीयले खोजतलास गर्दा माघ २८ गते बेलुकी ५ बजेतिर स्थानीय टाकुरा गाउँको पाखो जङ्गलमा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी पीडित पक्षबाट कर्तव्य ज्यान शीर्षकको किटानी जाहेरी लिइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया