जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन सम्पन्न : पुरुषतर्फ अर्जुन बस्नेत र महिलातर्फ हुमी बुढामगर प्रथम

 फागुन १, २०७७ शनिबार १८:३८:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको मौराखारा गुरिल्ला म्याराथन सम्पन्न भएको छ । म्याराथनमा पुरुष तर्फ रुकुम पश्चिमका अर्जुन बस्नेत र महिला तर्फ प्युठानकी हुमी बुढामगर प्रथम हुनुभएको छ । 

म्याराथनमा विभिन्न जिल्लाका ६५ जना धावकहरुलाई उछिन्दै जिल्लाको सानीभेरी गाउँपालिकाका अर्जुन पुरुष तर्फ प्रथम हुनुभएको हो । उहाँले निर्धारित ४६ किलोमिटरको दूरि ४ घण्टा ३० मिनेटमा पूरा गर्नुभयो ।
त्यस्तै पुरुष तर्फ निर्धारित दूरि ४ घण्टा ५१ मिनेटमा पूरा गर्दै सोलुखोम्बुका सुमन कुलङ दोस्रो हुँदा रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३, का रत्नबहादुर ओली तेस्रो र सानीभेरी ३ कै भुवन ओली सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ । तेस्रो हुने रत्नबहादुरले ४ घण्टा ५६ मिनेट र सान्त्वना हुने भुवनले ४ घण्टा ५९ मिनेटमा दौड पूरा गर्नुभएको हो ।

अर्जुन बस्नेत

त्यस्तै आफ्ना ३३ जना प्रतिद्वन्दीलाई पाखा लगाउँदै महिला तर्फ प्रथम हुने प्युठानकी हुमीले निर्धारित ३४ किलोमिटरको दूरि ३ घण्टा १४ मिनेटमा पूरा गर्नुभयो । बर्दियाकी कल्पना थारु दोस्रो र रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ की रुपा नकाल तेस्रो हुँदा महिला तर्फ सानीभेरी गाउँपालिका ९ की मुवा भण्डारी सान्त्वना हुनुभयो । दोस्रो हुने कल्पनाले निर्धारित दूरि ३ घण्टा १७ मिनेट, तेस्रो हुने रुपाले ३ घण्टा २० मिनेट र शान्त्वना हुने मुवाले ३ घण्टा ४० मिनेटमा पूरा गर्नुभयो ।

हुमी बुढामगर

म्याराथनको पूर्व गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको थियो । म्याराथनमा महिला तर्फ ३४ र ६६ जनाले भाग लिएका थिए । रुकुम पश्चिम र पूर्व सहित देशका विभिन्न जिल्लाबाट सहभागिता जनाउन धावकहरु आएको म्याराथनको संयोजन गरिरहेको मौराखारा युवा क्लबले जनाएको छ । पुरुष धावकहरु ४६ किलोमिटरको रुटमा दौडिएका थिए भने महिला धावकहरुले ३४ किलोमिटर दूरि पूरा गरेका थिए ।

पुरुषतर्फ प्रथम हुने खेलाडीलाई नगद ८० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुनेलाई ५५, तेस्रो हुनेलाई ३५ हजार र सान्त्वना हुने खेलाडीलाई नगद १० हजारका साथमा प्रमाण पत्रले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै महिला तर्फ प्रथम हुनेले नगद ५५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र, दोस्रो हुनेले ४०, तेस्रो हुनेले २० र सान्त्वता हुनेले १० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । 

जनयुद्ध दिवसका अवसरमा विगत ४ वर्षदेखि गाउँपालिकाले राष्ट्रिय स्तरको गुरिल्ला म्याराथन सञ्चालन गर्दै आइरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया