४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजनाकाे काम अन्तिम चरणमा

 फागुन ७, २०७७ शुक्रबार १६:३२:२६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन मिरिस्तीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ४२ मेगावाट क्षमताको मिरिस्ती खोला जलविद्युत् आयोजना निर्माणसँगै उत्पादन परीक्षणका लागि अन्तिम चरणमा पुगेको हो ।

माउण्टेन इनर्जी प्रालि नेपालले बनाइरहेको यस आयोजनाको अहिलेसम्म ९९ प्रतिशतभन्दा बढी भौतिक प्रगति सकिएको आयोजनाले जनाएको छ । सुरुङ तथा पाइपमा पानी राखेर परीक्षण गरिसकिएको छ भने अब फेरि पानी राख्ने तयारी गरिएको छ । अहिले पाउवर हाउसभित्र विद्युतीयसम्बन्धी काम भइरहेको आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो ।

अबको दुई हप्ताभित्रमा विद्युतीयसम्बन्धी काम सकेर परीक्षण उत्पादन सुरु गरिने आवासीय इञ्जिनियर खड्काले बताउनुभयो । उहाँका अनुसार २३ सय मिटर लामो सुरुङ तथा १६ सय मिटरको पाइपबाट ल्याइएको पानी तीन सय मिटर माथिबाट टर्वाइनमा खसालेर विद्युत् उत्पादन गरिनेछ । नारच्याङमा निर्माण गरिएको आयोजनाको पावर हाउसदेखि दाना सब–स्टेशनसम्म विद्युत् जडानका लागि ट्रान्समिसन लाइनसमेत निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखिएको इञ्जिनियर खड्काको भनाइ छ ।  

नारच्याङमा रहेको आयोजनाको पावर हाउसदेखि दाना सब–स्टेशनसम्म लाइन निर्माणको काम सकिएकाले सुरुङतर्फ भौतिक निर्माणको पनि काम सम्पन्न भएको छ । आयोजनाको मुख्य काम सकिएको हुँदा अतिरिक्त कामलाई तीव्रताका साथ अगाडि बढाइएको छ । अहिले परीक्षण तयारी थालिएकाले संरचनाको परीक्षण सकिएपछि विद्युत् उत्पादनको परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ । आयोजनामा पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको छ ।  

घलेम्दी र निलगिरी खोला मिसिएर मिरिस्ती नामाकरण भएको यस खोलाको सहायतामा ४२ मेगावाट क्षमताको विद्युत निकाल्ने तयारी थालिएको हो । आयोजनाका लागि मिरिस्तीखोलाको मुहानतर्फ ड्याम निर्माण गरी ढोका राख्ने कामलगायतका काम सकिएको आयोजनाको हाइड्रो मेकानिकल इञ्चार्ज दिलाराम श्रेष्ठले बताउनुभयो । आयोजना निर्माणको काम अन्तिम चरणसम्म आउँदा झण्डै चार वर्ष लागेको छ । 

गएको वैशाख महिनामा काम सम्पन्न गर्ने तयारी गरिएको भए पनि विश्वभर फैलिएको कोरोना भाइरसको कारण लगाइएको लकडाउनले आयोजना निर्माणमा ढिलाइ भएको हो । कालीगण्डकीको किनारमा निर्माण गरिएको मिरिस्तीको पावर हाउसको छेकबाँधका लागि ग्याबिन जाली तथा पर्खाल लगाइएको छ । 

अन्नपूर्ण गाउँपालिकाअन्तर्गत विभिन्न वडामा निलगिरी जलविद्युत् आयोजना र निलगिरी क्यास्केट–२ गरी एक सय १० मेगावाट, घारखोला जलविद्युत् आयोजना १४ मेगावाट र रेलेखोला जलविद्युत् आयोजना ६ मेगावाट निर्माणाधीन अवस्थामा रहेको नारच्याङका स्थानीय अगुवा तेजबहादुर गुरुङले बताउनुभयो । 

यसैगरी कालीगण्डकी गर्ज एक सय ६४ मेगावाट, रुप्सेखोला जलविद्युत् आयोजना चार र मध्यकालीगण्डकी आयोजना ५३ दशमलव ५३ मेगावाट निर्माणको क्रममा छ । 

४२ मेगावाट क्षमताको मिरिस्तीखोलाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने तयारीमा छ । यसअघि पाँच मेगावाट क्षमताको लघेम्दीखोला जलविद्युत् आयोजना कालीगण्डकी प्रसारण करिडोर आयोजना २२० केभी दाना सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।   

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया