कोरोनाले बिथोलेको कोरिया रोजगारी : न परीक्षाकाे टुङ्गो लाग्यो, न त पास भएका जान पाए

 फागुन ९, २०७७ आइतबार १८:२:४८ | बेदानन्द जाेशी

काठमाण्डौ – काठमाण्डौको डिल्लीबजारमा कोठा भाडामा बसेर कोरियन भाषा परीक्षाको तयारीमा जुटेका विकास जोशीलाई दिक्क लागिसक्यो । 

‘क्यालेन्डरको पाना पल्टाउँदै दुई वर्ष बितिसके, परीक्षाको टुङ्गो छैन’, उहाँले चियाको कप टेबुलमा राख्दै भन्नुभयो, ‘अब कतार या मलेसिया लाग्नुपर्ला जस्तो छ, कोरियन भाषा परीक्षाका लागि गरेको मेहनत त बालुवामा पानी खन्याए झैं भइसक्यो ।’ 

अघिल्लो वर्ष परीक्षा दिने सोचले कस्सिएर तयारीमा जुट्नुभएको थियो विकास । भाषा परीक्षा तयारीकै लागि बझाङबाट काठमाण्डौ आउनुभयो ।

एक वर्ष तयारी कक्षामा जुट्नुभयो । तर कोरोनाका कारण परीक्षा भएन । त्यसपछि भएका कापी किताब डिल्लीबजारको साँघुरो कोठामा थन्क्याएर दुई किताब झोलामा बोकी उहाँ घर जानुभयो । घर गएर पनि पढ्न छाड्नुभएन । कतै परीक्षाको सूचना आइहाल्छ कि भनेर उहाँले किताबसँगको सम्बन्धलाई टाढा हुन दिनुभएन । 

एक पटक दसैँभन्दा पहिले नै परीक्षा हुने हल्ला चल्यो । उहाँ फेरि काठमाण्डौ आउनुभयो । तर परीक्षा भएन । दसैँतिहारको बीचमा भइहाल्छ कि भन्दै उहाँ तयारीमा जुट्नुभयो । चाडबाडमा गाउँघर पनि जानुभएन । तर न परीक्षा भयो न त अरू कुनै उपाय । समय कुर्दा कुर्दै गयो ।

अहिले पनि एक दिन त परीक्षा होला भन्ने आस छ । उहाँ पढिरहनुभएको छ । तर काम र कमाइबिना सहरमा कति दिन चल्छ र । अहिले उहाँलाई काठमाण्डौमा बस्न समस्या हुन थालिसकेको छ । 

‘काठमाण्डौमा कोठा भाडामा बस्नुपरेको छ, परीक्षा दिन पाए घर जान्थेँ’, विकासले दुःखी हुँदै भन्नुभयो,‘यही परीक्षाको लागि भनेर बसेको तीन वर्ष भइसक्यो, अब पनि परीक्षा भएन भने त खाडी लाग्नुपर्ला ।’

विकासजस्तै कोरोना जाने सपना पालेर लाखौँको सङख्यामा परीक्षामा जुटेका युवाहरू परीक्षा मिति नतोकिँदा अन्योलमा परेका छन् ।

कोरोनाकै कारण अघिल्लो वर्ष अर्थात् २०२० मा पनि भाषा परीक्षा हुन पाएन । यो वर्ष चाँडै गर्ने भनेको परीक्षा पनि विभिन्न कारणले हुन सकेको छैन ।

कोरिया ईपीएस शाखाले प्राविधिक जटिलताका कारण परीक्षाको टुङ्गो लाग्न नसकेको जनाएको छ । अघिल्ला वर्षसम्म पीबीटी अर्थात पेपर बेस्ड टेस्ट हुने गरेकोमा यो वर्षदेखि सीबीटी अर्थात् कम्प्युटर बेस्ड टेस्ट हुने भएकाले त्यसको लागि तयारी भइरहेको ईपीएस शाखाले जनाएको छ । त्यसैका कारण ढिलो भएको शाखाका निर्देशक इन्द्र गौतमले बताउनुभयो ।

‘एक त कोरोनाले नै पछाडि धकेल्यो, त्यसैमाथि यो वर्षदेखि कम्प्युटराइज्ड सिस्टममा जाने भएकाले ढिलो भएको हो’, गौतमले भन्नुभयो, ‘अहिले टेक्निकल म्यानेजमेन्टको काम अघि बढिरहेको छ, कोरियाली पक्ष पनि सफ्टवेयर निर्माणको काममा जुटेको छ, त्यो सकिने  बित्तिकै परीक्षा सञ्चालन गर्नेछौँ ।’

तर परीक्षा कहिले  हुन्छ भनेर अहिल्यै भन्न नसकिने उहाँ बताउनुहुन्छ ।

परीक्षा उत्तीर्ण गरेर पनि जान पाएनन्

सन् २०१७ देखि कोरियन भाषा उत्तीर्ण गरेकामध्ये कतिपयले अहिलेसम्म पनि कोरिया जान पाएका छैनन् । उनीहरूले बेलाबेला आफूलाई छिटो कोरिया पठाउन भन्दै आन्दोलन गर्नेलगायत सङ्घर्ष पनि गर्दै आएका छन् ।
परीक्षा उत्तीर्ण गरेर रोस्टरमा बसेका १० हजार र लेबर पर्मिट आएर पनि जान नपाएका पाँच हजार गरि अझैं १५ हजार जति कोरिया जान बाँकी रहेको ईपीएस शाखाले जनाएको छ ।

ईपीएस शाखाका अनुसार लेबर पर्मिट आएर पनि जान नपाएकाहरूलाई नयाँ वर्षको सुरुमै बोलाउने भन्ने कुरा भए पनि अहिलेसम्म कोरियाबाट कुनै लिखित जानकारी आएको छैन । भिसा आएको ६ महिनाभित्र कोरिया गइसक्नुपर्ने हुन्छ । तर कोरिया सरकारले अहिले सीसीभीआईको म्याद सकिएपछि त्यसको म्याद थप गरिदिने गरेको छ । यसले गर्दा जान पाइएन भनेर आत्ती नै हाल्न नहुने ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले बताउनुभयो ।

कोरिया सरकारले कोरोनाको कारण देखाएर नेपाल लगायत विभिन्न १६ देशबाट श्रमिकहरु बोलाउन अप्ठ्यारो मानिरहेको उहाँको भनाइ छ । 

‘कोरिया सरकारले अझै पनि नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको छ, हाम्रो देशबाट श्रमिक लिनलाई स्वीकृति दिइसकेको छैन’, गौतमले भन्नुभयो, ‘हामी हाम्रो तर्फबाट पहल गरिरहेका छौं, पत्राचार गरिरहेका छौं, परराष्ट्रमार्फत पनि कुरा अगाडि बढाइरहेका छौं ।’

कोरियाले ट्रायलकोरुपमा कम्बोडिया र श्रीलङ्काबाट केही श्रमिक लिइरहेकाले नेपालबाट पनि चाँडै लिनेछ भन्ने आस चाहिँ गर्न सकिने निर्देशक गौतम बताउनुहुन्छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया