सङ्खुवासभा : पेट्रोल खन्याउने क्रममा चैनपुरको पम्पमा आगलागी, रेडियाे अरुणकाे प्रसारण बन्द

 फागुन ११, २०७७ मंगलबार १६:५७:१५ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाकाे चैनपुर नगरपालिका ७ जिरोप्वाइन्टमा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ । मङ्गलवार दिउँसो १२ बजेतिर ट्याङ्करबाट पेट्रोल खन्याउँदै गर्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।

पम्पमा आगलागी हुँदा आयल निगममा कार्यरत कर्मचारी चैनपुरका ३७ वर्षीय सविन कर्माचार्य सामान्य घाइते हुनुभएको छ । आगलागीका कारण पम्प नजिकै रहेको एक औषधि पसल र होटलमा पनि क्षति भएको छ । 

आगलागीका क्रममा सामान निकाल्ने क्रममा रेडियाे अरुणकाे उपकरणमा क्षति पुगेकाे छ । रेडियाेकाे ट्रान्समिटर, कम्प्युटरलगायतका उपकरणमा क्षति पुग्दा प्रसारण बन्द भएकाे रेडियाेकाे स्टेशन म्यानेजर दुर्गाबहादुर कटुवालले जानकारी दिनुभयाे ।

घटनाबारे अनुसन्धान भइरहेकाले क्षतिको विवरण आउन बाँकी रहेको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिनुभयो । मङ्गलबार त्यस टयाङ्करले डिजल २० हजार लिटर र पेट्रोल नौ हजार लिटर बोकेर आएको थियो ।त्यही इन्धन खन्याउँदै गर्दा आगलागी भएको हो ।

आगलागीबाट पेट्रोल पम्पमा डेढ करोड रुपैयाँमाथिको क्षति भएको पेट्रोल पम्प सञ्चालक सदस्य तथा चैनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष आशिष शाक्यले बताउनुभयो । 

अहिले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।   

अन्तिम अपडेट: बैशाख १, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया