ओली पक्षमा रहेका नेताहरूलाई 'मूल पार्टी' मा फर्कन प्रचण्ड–नेपाल समूहको आग्रह

 फागुन १२, २०७७ बुधबार १७:१३:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका रहेका नेताहरूलाई मूल पार्टीमा फर्कन आग्रह गरेको छ ।

बुधवार बसेको स्थायी कमिटीको बैठकले आफूहरू नै पार्टी भएको र यसैमा आबद्ध भएर कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक गणतन्त्रको रक्षामा सहभागी हुन ओली पक्षमा रहेका नेताहरुलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अहिलेकै अवस्थामा फेरि ओलीसँग एकता नहुने पनि बैठकले निष्कर्ष निकालेको छ । ओलीले आफूले गरेका गल्तीको सार्वजनिक रूपमा माफी मागेर आत्मालोचना गर्नुपर्ने र गुटबाट माथि उठ्ने बलियो प्रतिबद्धता जनाएमा मात्रै एकताको कुरा सुरु हुन सक्नेमा पनि स्थायी कमिटीका सदस्य एकमत रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र त्यसो नभए संविधान अनुसार अगाडि बढ्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले केपी ओलीले तत्कालै नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्यने भनेर भनिसकेको छ । अहिलेसम्म उहाँले दिनुभएको छैन । त्यसो नभएको अवस्थामा पनि अदालतकै फैसलाअनुसार छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ र प्रतिनिधि सभाको बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अगाडि बढ्ने छ ।’

बैठकले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक कदमको संज्ञा दिँदै लोकतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षडयन्त्रलाई असफल पारेकोमा धन्यवाद पनि दिएको छ ।

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक पनि बुधवार नै बस्दैछ ।   

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया