प्रतिनिधि सभा पुनर्स्थापना : प्रचण्ड–माधव समूहकाे 'खुसीयाली जुलुस', ‘अब देश संविधानबाट चल्छ’

 फागुन १२, २०७७ बुधबार १८:१३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठहर्‍याउँदै पुनर्स्थापना गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डौमा खुसीयाली जुलुस निकालेको छ । 

काठमाण्डाैकाे शान्तिवाटिकामा भेला भएको जनसमुदायले सरकारको असंवैधानिक कदम न्यायालयले सच्चयाएको जनाउँदै खुसीयाली साटासाट गरेको थियो । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । 

सरकारको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो वैशाखमा मध्यावधि चुनाव घोषणा गर्नुभएको थियो । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपाको प्रचण्ड–माधव समूह लगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।  

शान्तिवाटिकामा भेला भएका दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले जुलुससहित नगर परिक्रमा गरेका थिए । जुलुसमा समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसाल र जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो । 

‘अब देश संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाँची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ’, नेतृ भुसालले  भन्नुभयो । विश्वकै उत्कृष्ट समाजवादी नमुना स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने बताउँदै उहाँले नागरिकको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न आफूहरू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेतृ भुसालले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी सङ्घर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गर्नुभयो । नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा पुनर्स्थापनाको खुसीयालीमा देशभर जनसभाको आयोजना गरेको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया