खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा रुकुम पश्चिममा नौ जना घाइते

 फागुन १२, २०७७ बुधबार १८:४५:१८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ बागबजारमा रहेको एक घरको भान्साकोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घाइते भएका छन् । 

बागबजारका उदिराम केसीको घरमा डेरा गरी बस्ने आठबीसकोट नगरपालिका २ का प्रजित ओलीको कोठामा ग्याँस चुहिएर आगलागी हुँदा नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते हुनेहरुमा ३९ वर्षीय प्रजित ओली, आठबीसकोट नगरपालिका २ का १६ वर्षीय इन्द्रबहादुर ओली, सानीभेरी गाउँपालिका ३ का १२ वर्षीय प्रचण्ड खनाल, ११ वर्षीय प्रकाश खनाल छन् । यसैगरी त्यही ठाउँका १५ वर्षीय पशुपति खनाल, आठबीसकोट नगरपालिका २ की हिरासा ओली, सानीभेरी गाउँपालिका ५ की १८ वर्षीया सरिता केसी, आठबीसकोट नगरपालिका २ का २६ वर्षीय वीरबहादुर ओली र त्रिवेणी गाउँपालिका ७ का ४३ वर्षीय वीरबहादुर केसी घाइते भएका छन् । ग्यास बिग्रेको अनुमानमा ग्यास मर्मतमा गएका तथा कोठामा बस्नेहरु घाइते भएका हुन् ।

घाइतेमध्ये प्रजित, इन्द्रबहादुर, हिरासा, वीरबहादुर ओली र वीरबहादुर केसीलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने चार जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले जानकारी दिनुभयो । ग्यास बाल्न खोलिएको र दिनभर ग्यास चुहिएर बेलुका आगो बलेको बताइएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया