संसद पुन:स्थापनापछि सरकार झन् बलियो भएकाे छ : सुवास नेम्वाङ

 फागुन १५, २०७७ शनिबार १९:१४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुन:स्थापना पछि सरकार झन् बलियो भएको बताउनुभएको छ । 

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले शनिवार काठमाण्डाैमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ हुनुभएका प्रधानमन्त्री ओली पुन:स्थापनापछि दह्रो भएको बताउनुभएको हो । 

उहाँले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गर्नुभयो । प्रतिनिधिसभा पुन:स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गर्नुभएको समेत नेम्वाङले बताउनुभयो । तर उहाँले अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पार्नुभयो। 

प्रतिनिधि सभा पुन:स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताउनुभयो । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले बताउनुभयो । 

नेता नेम्वाङले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो । अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहनुभएको पनि नेता नेम्वाङले बताउनुभयो । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया