चार मन्त्रालयका सचिवहरुले गरे अरुण तेस्रो जलविद्युत् परियोजनाको अनुगमन

 फागुन २०, २०७७ बिहिबार ८:३८:३९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभामा निर्माणधीन बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको नेपाल सरकारका चार जना सचिवहरुले अनुगमन गरेका छन् ।

बुधबार दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयका सचिव दिनेश घिमिरे, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे र पराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडयाल संखुवासभा आउनुभएको हो । उहाँहरुले एकैदिन अरुण तेस्रो परियोजनाको ड्यामसाइड र पावारहाउस गृहको अवलोकन र अनुगमन गर्नुभएको थियो ।

राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोलाई सरकारले चासोका साथ हेरिरहेकाले सचिवहरु स्थलगत अनुगमनका लागि आउनुभएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभयो । 

‘सचिव ज्यूहरुले ड्यामसाइड फ्याक्सिन्दा र पावारहाउस गृह पुखुवा दुवै ठाउँमा हेलिकप्टरबाट ओर्लिएर हेर्नुभयो । स्थानीयहरुको तर्फबाट प्रभावित क्षेत्रका गाउँपालिकासँग सामान्य छलफल गर्दै परियोजनाको अनुगमन गरेर फर्किनु भयो ।’–प्रजिअ आचार्यले भन्नुभयो ।    

बुधबार चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले चारै जना सचिवहरुलाई ज्ञापनपत्र तथा ध्यानाकर्षणपत्र पेश गर्नुभएको छ । उहाँले राष्ट्रिय गौरवको परियोजना संखुवासभा जिल्लामा बन्नु खुशीको कुरो भए पनि स्थानीयहरुको समस्या प्रति सरकार गम्भीर नबनिदिँदा स्थानीय तहमा नै समस्याको चाङ थुप्रिने गरेको बताउनुभयो । चिचिला गाउँपालिकाले स्थानीय तहको तर्फबाट विभिन्न ९ बुँदे मागपत्र सचिवहरुलाई बुझाउनु भएको थियो ।

परियोजनाको पुखुवामा रहेको पावारहाउस गृह जाने खाँदबारी–४ छ्याङकुटी डाँडादेखि पुखुवासम्म साढे २४ किमि सडकको मुआब्जा विवाद भए पनि संखुवासभाका प्रजिअको संयोजकत्वमा बनेको टोलीले गएको ७ गते लगानी बोर्डमा बुझाएको प्रतिवेदनको आधारमा छुट मुआब्जा तत्कालै वितरण गर्नुपर्ने लगायतका थुप्रै मागहरु राखेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

अरुण तेस्रो भारतीय सरकारी सतलज कम्पनीले निर्माण गरिरहेको छ । परियोजनामा समय–समयमा विभिन्न खालका विवाद आएकाले काममा अवरुद्ध हुँदै आइरहेको छ । विशेषगरि सतलज कम्पनीले भारतीय दुई वटा निर्माण कम्पनीलाई कामको जिम्मेवारी दिएको छ । मकालु गाउँपालिका–५ फ्याक्सिन्दाको डयामसाइडमा जेपी एसोसियट कम्पनीले काम गरिहेको छ । यस्तै चिचिला गाउँपालिका–३ पुखुवा स्थित पावारहाउस गृहमा पटेल इन्जिनिरिङ्ग कम्पनीले काम गरिरहेको छ ।

अरुण तेस्रोको हालसम्म ४० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । केहीसमय अगाडि मात्रै नदीलाई डाइभर्सन गरेर ड्यामसाइडको काम समेत सुरु भइसकेको छ । अरुण तेस्रो परियोजनामा कुल १ खर्ब ४४ खर्ब लागत लाग्ने अनुमान छ । सन् २०२३ भित्र परियोजना निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया