साहित्यको छोटो तर चोटिलो विधा हाइकु

 फागुन २२, २०७७ शनिबार १३:१६:५० | जानुका दुवाडी
unn.prixa.net

चिसो मौसम​

राजनीतिक् तमासा

तातो बहस ।

कम शब्दमा नै धेरै भाव प्रकट गर्ने मुख्य विशेषता बोकेको हाइकु जापानी शैलीको कविता हो ।  जापानबाट कोसौं टाढा रहेको नेपालमा पनि अहिले यो फस्टाउँदै गएको छ । प्रकृतिले नेपालमा आरु फुलाउँदा जापानमा साकुरा फुलाउँदो हो । कोसौँ टाढाको प्रकृतिको संवाद सायद यसरी नै हुन्छ होला । 

तर प्रविधि र विश्वव्यापीकरणले गर्दा कला, सङ्गीत र साहित्य जस्ता विषयहरुको फैलावट र पहुँच भने विश्वभरि नै उस्तै-उस्तै देखिने यस क्षेत्रमा लागेकाहरु बताउँछन् । जस्तो जापानमा दशकौं अगाडि जन्मिएको हाइकु नेपालमा केही समय अगाडि भए पनि अङ्कुरण भएरै छाड्यो । जापानमा सत्रौँ शताब्दीदेखि सुरु भएको हाइकु नेपालमा त्यसको तीन शताब्दीपछि  भित्रिएको हो ।

हाइकु साहित्यका अनेकौँ  विधाहरुमध्येको एक छोटो, तर खँदिलो विधा मानिन्छ । यसमा विशाल भाव वा विषयलाई पनि अत्यन्त छोटो तरिकाले  प्रस्तुत गरिने सर्जक तिला लेकाली बताउनुहुन्छ ।

“हाइकु गहन र प्रभावकारी हुन्छ, हाइकुका लागि शीर्षक अनिवार्य छैन” लेकाली ठट्यौली पारामा भन्नुहुन्छ, “हाइकुभन्दा शीर्षक लामो हुन सक्ने डरले शीर्षक अनिवार्य नगरिएको हो की ?”

हाइकुलाई लघुतम सङ्कथनका रुपमा  लिने गरिन्छ । पहिलो हरफ ५ अक्षरको, दोस्रो हरफ ७ अक्षरको र तेस्रो हरफ ५ अक्षरको गरी जम्मा तीन हरफमा यसको रचना गरिन्छ । यसमा १७ वटा मात्रै अक्षर हुन्छन् । सर्जक लेकाली, जम्मा १७ अक्षरमा सम्पूर्ण अभिव्यक्ति दिइसक्नुपर्ने कविताको सानो रुपलाई हाइकु भनिने बताउनहुन्छ । 

हाइकु निक्कै सानो विधा भएर पनि एकदमै सशक्त, रसिलो, कसिलो र तिखो विधा हो । यो विधाको मुख्य संरचना भनेको ५,७, ५ को अक्षर संरचना हो । पहिलो हरफमा प्राकृतिक बिम्ब हुनुपर्छ भन्ने मान्यता रहेको छ । यसलाई ऋतुबोधक बिम्ब पनि भन्ने गरिन्छ । प्राकृतिक बिम्ब भएकालाई राम्रो मानिने लेकाली बताउनुहुनछ ।  

सर्जक लेकालीकाअनुसार प्राकृतिक बिम्ब वा ऋतुबोधक नभएका हाइकुहरु पनि रचना नभएका भने होइनन् । तर त्यसलाई सेन्यू भनिन्छ । 

तीन हरफको हाइकुमा पहिलो हरफले विषयबस्तुको उठान गरेको हुन्छ । दोस्रोले समर्थन र तेस्रोले समस्या समाधान गरेको हुनुपर्छ । पहिलो र दोस्रोले  उठान गरेको कुरालाई तेस्रो लाइनले समर्थन गरेको हुनुपर्ने लेकालीको बुझाई छ ।  

हाइकु भावपूर्ण र अर्थ लाग्ने हुनुपर्छ । नेपालमा हाइकु साहित्यकार शंकर लामिछानेले भित्र्याएको मानिन्छ ।  

शिरीष फूल

भ्रमर चुम्बनमै

ओइली झर्छ ।

शंकर लामिछानेले यो हाइकु २०२७ सालको असोजमा ‘रूपरेखा’ पत्रिकमा छाप्नुभएको थियो । पछि बिस्तारै उहाँका समकालीन् साहित्यकारहरुले हाइकुलाई आत्मसाथ गर्दै गए । हाइकु लेखनमा युवापुस्ताको रुचि बढ्दै गयो । बीचमा केही सेलाएको जस्तो पनि देखियाे । तर कोरोनाका कारण भएको लडकाउनपछि अरु क्षेत्र सुस्ताए पनि साहित्य र यो अन्तर्गतको एउटा विधा हाइकु भने फस्टायो । 

अहिले धेरै सर्जकहरुले लेख्न थालिसक्नुभएको छ । लकडाउनको समयमा हाइकु सिर्जना गर्ने सर्जकको संख्या झन् बढी भयो । सानो, छिटो र धेरै कुरा व्यक्त गर्न सकिने भएकाले लेखाइमा केही जटिलता पक्कै छ । तरपनि मानिसहरुको आकर्षण उत्तिकै छ । 

थोरै समयका लागि पनि केही लेखौँ र केही गरौँ भन्ने चाहाना भएका सर्जकका लागि यो विधा एकदमै महत्त्वपूर्ण हुन्छ । सर्जक तिला लेकाली आफूले अहिलेसम्म १ हजारको हाराहारीमा हाइकु लेखिसकेको बताउनुहुन्छ । 
उहाँले लेख्नुभएका हाइकुमध्ये केही हाइकु :

२) नेपाली छोरी 
न्यायको कोल्टेचुलो
निम्छरो राज्य ।

३) अक्करे भीर 
असर भूमिपुत्र 
गंगा चौधरी ।

४) पाकेको भात 
भाँडोबाट घोप्टियो
तातो भुङग्रोमा ।

५) बाल श्रमिक
कानुनी अपराध
उचित दण्ड ।

हाइकुको परिधि भनेको नै यसको संरचना र बिम्ब हो भन्ने लाग्छ अर्का सर्जक मिश्र बैजयन्तिलाई ।  प्रकृति र मौसमको बिम्बको साथमा ५, ७, ५ को तीन वटा हरफमा लेख्ने परिधि हाइकु  हो । जापानमा अक्षर र काब्यमा निर्माण भएको हाइकु, विश्वका अरु साहित्यमा पनि अनुवाद हुँदै गए । 

सामाजिक, सांस्कृतिक र राजनीतिक विषयबस्तुहरु र अन्य विभिन्न किसीमका विषयबस्तुहरु जसरी हामी अन्य विधाहरुमा प्रयोग गछौँ, त्यही प्रकारको बिम्ब र शैलिलाई हाइकु संरचनाभित्र ल्याएर लेख्ने चलन रहेको बैजयन्ती बताउनुहुन्छ । 

अर्थ देखाउने गरी लेखिने बिम्बात्मक कवितालाई हाइकु भन्ने हो  । अन्य विषयबस्तु पनि थपेर  लेखियो भने त्यसलाई सेन्यु भनिन्छ । साहित्यका अरु विधाका आफ्ना संरचना फरक छ । गद्य कविता, छन्द कविता  र मुक्तकको आफ्नै प्रकारको संरचना हुन्छ ।   

गजल, गीत र गद्य लेखनमा संख्याको हिसाबले जति कविहरु छन् । त्यतिको संख्यामा हाइकु लेख्नेहरु छैनन् । तर पछिल्लो समय यो क्षेत्रमा कलम चलाउनेहरु पनि बढेका कवि मिश्र बैजयन्ति बताउनुहुन्छ । कवि बैजयन्तिले पनि धेरै हाइकुहरु लेखिसक्नुभएको छ । उहाँका हाइकुहरु यस्ता हुन्छन् :

१) जीवनसूत्र
भिरालो खेतबारी
तेर्सो  हिँडाइ ।

२) एकल आमा
नानीको नाना किन्छिन् 
बेचेर ढुङग्री ।

३) युवा विद्यार्थी
ठूलो किताब घर 
कठिन यात्रा ।

हाइकु काब्यको लघुतम विधा भए पनि यो चोटिलो, मार्मिक  र अर्थपूर्ण हुने भएकाले यसमा धेरैको रुचि भएको हुन सक्ने सर्जक चेतनाथ ढकाल बताउनुहुन्छ । 
छोटोमा  धेरै कुराहरु भन्न सकिने भएकाले यसप्रति युवापुस्ताको आकर्षण बढेको हो । 

सर्जक ढकालले लेख्नुभएको हाइकु सङ्घर्षमय जीवनले पनि केही आशा र सपना बोकेको हुन्छ है भन्ने जस्ता सन्देश दिने खालको हुन्छ भन्नुहुन्छ, ढकाल । नयाँ सञ्चार दिने हाइकुले मानिसलाई उत्साहमा हिँडाउँछ । नयाँ चेतना पैदा गर्छ । नयाँ सञ्चार दिन्छ । यस्तै भाव व्यक्त गर्ने उहाँको हाइकु यस्तो छ :  

१) छु सडकमा 
घाम जस्तै झलल 
नयाँ सपना ।

२) संसारभरि 
गुलाफ, फुलाएर 
हाँसो  सपना ।

ढकाललाई यात्रामा निस्कँदा वा अरु कुनै बेला आकश्मिक ढङ्गले रचना फुर्ने बताउनुहुन्छ । 

नेपाली देवनागरी लिपि हाइकुमैत्री नभएको यो क्षेत्रका कतिपय जानकारहरुले बताउँदै आएका छन् । कतिले नेपाली भाषामा हाइकु लेखन रहरको सिर्जना मात्र भएको तर्कहरु पनि गर्ने गरेका छन् । हाइकु साहित्यको पछिल्लो र संरचनागत हिसाबमा छोटो संरचना भएको विधा हो । साहित्यका अन्य विधाहरुजस्तो हाइकुको फैलावटको गति सुस्त भए पनि  यसका सर्जक र सिर्जना दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।   
 

अन्तिम अपडेट: बैशाख २, २०७८

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया