संसद् छाडेर हिँडेकाे हाेइन, अध्यादेश पेस गर्ने एजेण्डा बहिष्कार गरेकाे हाे : प्रचण्ड

केपी ओली सरकारकाे आयु सकियाे : माधवकुमार नेपाल

 फागुन २३, २०७७ आइतबार २०:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् बहिष्कार नभइ सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको बताउनुभएको छ । 

प्रतिनिधि सभा बैठक छाडेर बाहिर निस्कँदै गर्दा सङ्घीय संसद् भवनमा सञ्चारकर्मीसँग अध्यक्ष दाहालले संसदको नभइ अध्यादेश पेस गर्ने एजेण्डाको विरोध गरेको प्रतिक्रिया दिनुभएको हो । असंवैधानिक, अनैतिक र अलोकतान्त्रिक सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएकाले अध्यादेश पारित गराउने एजेण्डा बहिष्कार गरेकाे उहाँले बताउनुभयो ।

सर्वोच्च अदालतको फैसलाले सरकार कसको हो भन्ने द्विविधा सिर्जना गरेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले कानुन व्यवसायीसँग छलफल गरी स्थायी कमिटी बैठक बसी आउँदाे रणनीति तय गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, संसद् छाडेर हिँडेको होइन । एउटा एजेण्डा जो सरकारसँग सम्बन्धित थियो, त्यसको बहिष्कार गरेको हो ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले सरकारको आयु सकिएको दाबी गर्नुभयो । उहाँले पूर्वमाओवादीले समर्थन फिर्ता लियो भने पनि सरकार टिक्ने आधार नभएकाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रूपमा बस्ने कुनै अधिकार नभएको दाबी गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले थप अन्याेल सिर्जना गरेको बताउनुभयो । सरकारले बहुमत गुमाएको भन्दै उहाँले नयाँ सरकार गठनको प्रक्रिया स्वतः अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष भट्टराईले आफ्नो पार्टीले सरकारको दाबी नगर्ने र सत्ताको खेलमा नरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया