कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटियो, चार छोराछोरी र आमा कर्णालीमा हामफालेको आशंका

 फागुन २५, २०७७ मंगलबार ८:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो ।

प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । दैलेखको आठबिस नगरपालिका-३ का मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको शव हिजो बेलुकी भेटिएको हो ।

कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको छ ।

दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका-३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको उहाँले बताउनुभयो ।

घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ । कामका लागि भारत गएका मानसिंह गएको मङ्सिर महिनामा मात्रै घर फर्किनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया