एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा

 फागुन २५, २०७७ मंगलबार ८:२४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका नेताहरुले बताएका छन् । पहिलेकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल हुन लागेको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

अध्यक्ष ओली र माधव नेपाल पक्षबीच लामो समयदेखिको सङ्घर्ष चल्दै आएकाले एमालेभित्रको विवाद तत्काल समाधान हुन सक्ने अवस्था देखिँदैन । सर्वोच्चको फैसलाअघि नेकपामा रहँदा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्दै नेपाल नेकपाको अध्यक्ष बन्नुभएको थियो ।

नेकपाभित्रको विवाद व्यवस्थापनका लागि दोस्रो तहका नेताहरु सक्रिय हुने देखिए पनि सजिलो भने छैन । यस्तै अबको रणनीतिबारे माओवादी केन्द्रका नेताहरु पनि बिहानैदेखि छलफलमा जुटेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । यस्तै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै संसदमा कसैको पनि बहुमत नपुग्ने अवस्था छ । यस्तो अवस्थामा दुईभन्दा धेरै पार्टीको गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यता छ ।

भावी सत्ता समीकरणबारे प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि आन्तरिक छलफल गरिरहेको छ । यसअघि नेकपा फुटिनसकेको अवस्थामा कुनै एउटा समूहलाई मात्रै समर्थन गरेर अघि नबढ्ने बताएको कांग्रेसलाई अब भने कुन समूहलाई सहयोग गरेर अघि बढ्ने भन्ने बाटो खुलेको छ । तर, कांग्रेसका केही नेताहरुले अहिले नै सरकारमा जान नहुने र चुनावमा जानुपर्ने भन्न थालेका छन् । यस्तै जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा बनाउनेबारे छलफल हुने नेता राजकिशोर यादवले बताउनुभयो । पुन:स्थापित भएको प्रतिनिधिसभामा आफ्नो भूमिका र  भावी सरकारका विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया