माधव नेपाल : दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले

 फागुन २५, २०७७ मंगलबार १४:१९:० | मिलन तिमिल्सिना
unn.prixa.net

अस्तिसम्म केपी शर्मा ओलीलाई नेता नै मान्न सकिँदैन भनेर भाषण गर्ने माधवकुमार नेपाल अमिलो मुख लगाएर लुरुलुरु ओली नेतृत्वकै पार्टीमा फर्किएका छन् । आफैँले पार्टीको सदस्यबाट समेत निष्कासन गरेका तिनै ओलीलाई नेता मान्न बाध्य भएका छन् । प्रचण्ड बराबरको हैसियतमा पुगियो भनेर हौसिँदै गर्दा लुडो खेलमा झैँ एक्कासी ९९ बाट दुई नम्बरमा झरेका छन् । 

आफ्नो जन्मदिनको दिन सर्वोच्च अदालतले `सरप्राइज गिफ्ट´ दिएपछि ओलीको जन्मदिनमा खाएको गुलियो लड्डु पनि तीतो भएको छ । हुन त त्यो लड्डु ओलीको जन्मदिनको खुसीयालीमा थिएन । ओलीलाई समेत `सरप्राइज गिफ्ट´ दिएर सर्वोच्चले संसद् पुनःस्थापना गरेको उत्साहमा प्रचण्डसँग साटेको खुसीयाली थियो । तर नेपाललाई जस्तो ओलीलाई `सरप्राइज गिफ्ट´ ले असर गरेको देखिएन । 

बालुवाटारमा जन्मदिनको चहलपहल भइरहँदा आफ्नो अपेक्षा विपरीत सर्वोच्चको फैसला आउँदा पनि ओली विचलित भएको देखिएन । तर एमाले र माओवादी बिउँताउने सर्वोच्चको फैसलाले माधव नेपाललाई चाहिँ विचलित बनायो ।

फैसला सुन्नेबित्तिकै छाँगाबाट खसेजस्तो हालत भयो । साथीभाइले दिएको जन्मदिनको शुभकामना पनि व्यङ्ग्यजस्तो लाग्यो । कार्की प्यालेसमा गएर बसेको अध्यक्षको कुर्सी हेर्दाहेर्दै लड्यो । राजनीतिको लामो यात्रामा आफ्नै अघिल्तिर संवैधानिक र नैतिक सङ्कट खडा भयो ।

सर्वोच्चको फैसलापछि नेपालको अघिल्तिर तीन वटा विकल्प देखिए । पहिलो, एमाले फुटाएर माओवादीसँग मिल्ने । दोस्रो, राजनीतिबाट सन्यास लिएर जोगी बन्ने र तेस्रो ओलीलाई नेता मानेर पुरानै घरमा फर्कने ।

पहिलो विकल्पअनुसार पार्टी फुटाएर हिँड्न ४० प्रतिशत सदस्य सङ्ख्या पुगेन । दोस्रो विकल्पअनुसार राजनीति छाडेर खरानी घस्न मनले मानेन । त्यसैले नेपाल मन नभइ–नभइ ओलीकै नेतृत्वमा पुरानो घरमा फर्कन बाध्य भए ।

संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि नैतिकताका आधारमा ओलीको राजीनामा माग्ने नेपालले साँच्चै नैतिकताको व्यावहारिक परिभाषा बुझेका भए एमालेमा फर्कन आँट गर्दैन थिए । कि त सांसद पद गए जाओस् भनेर दल त्याग गर्थे कि त राजनीतिबाट सन्यास लिन्थे तर उनले यो जोखिम मोल्न चाहेनन् । 

उनलाई नजिकबाट  बुझेका सबैलाई थाहा छ, माधव नेपाल पद भनेपछि हुरुक्कै हुन्छन् । दुई ठाउँबाट चुनाव हार्दासमेत सांसदबाट प्रधानमन्त्री बनेको र महाधिवेशनमा हार्दासमेत प्रचण्डकै हाराहारीको अध्यक्ष भएकोबाट त हरेक नागरिकले उनको पदप्रतिको आशक्तिलाई प्रष्टै बुझिसकेका छन् । 

यही लोभ र आशक्तिले उनलाई अस्थिर बनायो । एमालेमा पनि उनी वरिष्ठ नेता नै थिए, माओवादीसँग एकता भएपछि पनि उनी त्यही वरिष्ठ पदमा कायम रहेकै थिए । ओलीका कमीकमजोरी त पहिले एमालेमा हुँदा पनि देखिएको थियो । खटपट त उतिबेला पनि थियो । माओवादीसँग मिलेपछि पनि ओलीको पुरानो बानी हटेन । ओलीको व्यवहारले प्रचण्डलाई जस्तै नेपाललाई चित्त नबुझ्नु स्वाभाविक नै थियो तर प्रचण्डको लहलहैमा लागेर ओलीलाई कमजोर पार्न माधव नेपाल आफैँले बनाएको एमालेकै जग हल्लाउन थालेपछि कुरा जटिल भयो । जग हल्लिएर भत्कनै  लागेको पार्टीमा अहिले उनी ओत लाग्न फर्कँदैछन् ।

यसअघि १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर पनि एमालेलाई बलियो बनाउन नसकेको आरोप नेपालको टाउकोमा छँदैछ । त्यसको अन्तिम रूप २०६४ सालको चुनावको नतिजाले पनि देखाएकै हो । पार्टीलाई उकास्न सकिएन भनेर उनले नैतिकताका आधारमा राजीनामा पनि दिएका थिए । त्यतिबेला उनले पार्टी नेता, कार्यकर्ताबाट टन्नै सहानुभूति पनि पाएका थिए । तर त्यो नैतिकता र सहानुभूतिलाई उनले टिकाउन सकेनन् । उनको समर्थनमा रहेका नेता, कार्यकर्ताले बिस्तारै छाड्न थाले । उनको साथ नछाड्नेहरू पनि उनका कतिपय गतिविधिप्रति असन्तुष्ट छन् । पार्टीभित्र सधैँ कचकच गरिरहने, आफ्नै समूहमा रहेका कार्यकर्ता र तल्लो तहका नेतालाई नचिन्ने, छुद्र वचन लाएर कार्यकर्तालाई चिढ्याउने, विदेश भ्रमण भनेपछि मरिहत्ते गर्ने नेता भनेर उनीमाथि आरोप लागिरहेकै छ । होली वाइन प्रकरणले त उनलाई  झन् तल गिरायो ।

यति हुँदाहुँदै पनि एमाले र नेपालको राजनीतिमा माधव नेपालको योगदान महत्त्वपूर्ण छ । तत्कालीन माओवादीलाई मूलाधारमा ल्याएर शान्ति सम्झौता गर्नेदेखि लोकतान्त्रिक आन्दोलन सफल बनाउने श्रेय ओलीलाई भन्दा बढी उनलाई नै जान्छ । तर केही कमी कमजोरीले उनको यो योगदान र गुणलाई छायामा पारिदिएको छ । ढङ्ग नपुर्‍याएकै कारण उनको यो अवस्था आएको हो ।

सर्वोच्चको पछिल्लो फैसलाले सबैभन्दा बढी उनलाई नै अप्ठ्यारो बनाइदिएको छ । अप्ठ्यारो र सङ्कट झेलेरै भए पनि उनी ओली नेतृत्वको पुरानो पार्टीमा फर्किएका छन् । पार्टी सदस्यबाट हटाइयो भनिएका तिनै ओलीको नेतृत्व मान्न तयार भएका छन् । अब आफ्नो कमजोरी सुधार्दै ओलीको कमजोरीलाई गुणात्मक र रचनात्मक ढङ्गले केलाउन र खेलाउन सके भने फेरि एमालेभित्रै बसेर आफ्नो हाइट बढाउने अवसर माधव नेपाललाई बाँकी नै छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया