तम्घास बजार क्षेत्रबाट जीप र माेटरसाइकल चाेरी गरेकाे आराेपमा एक जना पक्राउ

 फागुन २५, २०७७ मंगलबार २०:३१:१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रबाट जीप र मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका ७ का २३ वर्षीय सन्दीप चुँदारा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

तम्घास बजारमा घर अगाडि पार्किङ गरिराखेको जीप र मोटरसाइकल चोरी गरेको आरोपमा चुँदारलाई प्रहरीले पक्राउ गरी मङ्गलबार पत्रकार सम्मेलमार्फत सार्वजनिक गरेको हो । तम्घास बजारमा मेटल वर्कशपमा काम गर्दै आएका चुँदाराले यही फागुन १८ गते राति रेसुङ्गा नगरपालिका १ आदर्श पथमा पार्किङ गरी राखेको केशव अधिकारीको लु१च ६१६४ नम्बरको जीप चोरी गरी गुल्मीकै सत्यवती गाउँपालिकाको उर्लीखोलामा पुर्याएका थिए । 

त्यसैगरी फागुन २२ गते चुँदाराले रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गामा पार्किङ गरी राखेको लु५७प  ४५५ नम्बरको मोटरसाइकल र त्यही दिन राति मिलनचोकको अमित होटल अगाडि कमल क्षेत्रीले पार्किङ्ग गरी राखेको बा ७४ प ९३९० नम्बरको मोटरसाइकल चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

सदरमुकाम तम्घासको मुख्य बजारबाट पटक–पटक गाडी तथा मोटरसाइकल चोरीका घटनाले स्थानीय र बजारवासी त्रसित बनेका थिए भने सुरक्षा निकायलाई पनि थप चुनौती थपिएको थियो । प्रहरीले चोरी भएका सबै सवारीसाधन फेला पारेपछि सम्बन्धित सवारी धनीलाई बुझाइसकेको छ । चोरी घटनामा संलग्न व्यक्तिलाई प्रहरीले गुल्मी जिल्ला अदालतबाट मङ्गलवार म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।

चुँदाराले पेचकसको सहायताले गाडी स्टार्ट गरी लैजाने र स्टार्ट बन्द भएपछि बीच बाटोमा छाडेर घर फर्कने गरेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया