विद्यार्थीको भविष्य माथि शिक्षकले खेलबाड गरेको भन्दै विद्यालयमा तालाबन्दी

 फागुन २६, २०७७ बुधबार १३:१०:२६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – शिक्षकले नपढाएको र व्यवस्थापन समितिले बेवास्ता गरेको भन्दै रुकुम पूर्वको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर २ मा रहेको हिमालय माध्यामिक विद्यालय नायगाढमा मंगलबारदेखि ताला लगाइएको हो । 

विद्यालयको समग्र शैक्षिक सुधारमा कसैले पनि चासो नदेखाएको भन्दै विभिन्न आरोपसहित विद्यार्थीहरुले तालाबन्दी गरेको बताइएको छ । विद्यार्थीहरुले विद्यालयमा शिक्षकहरुले नपढाइ हाजिर मात्र लगाएर जागिर पकाउने मात्र काम गरेको जनाएका छन् । 

कक्षा १० मा अध्ययनरत प्रदीप कुमार कामीले विद्यार्थीको भविष्य माथि खेलबाड गर्ने काम भएको, शिक्षकहरुले मनोमानी गरेको, विद्यालय व्यवस्थापन समितिले बेवास्ता गरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताउनुभयो । 

उहाँले बिभिन्न बहानामा शिक्षकहरु विद्यालयमा अनुपस्थित हुने गरेको, आउनेहरुले हाजिर मात्र लगाएर घाम ताप्ने गरेको जनाउनुभयो । ‘विद्यालयमा आउँछन्, कक्षामा जाँदैनन्’, उहाँले भन्नुभयो, ‘तलब पकाउने काम मात्र भएको छ ।’

कक्षा १२ का प्लसमान घर्तीले विद्यालयको दैनिक पठनपाठनमा ध्यान नदिएर ट्युसन कक्षालाई अनिवार्य गराइ चर्को शुल्क असुल्ने धन्दामा शिक्षकहरु लागेको बताउनुभयो । विद्यार्थी नेता तिलक रसाइलीले विद्यालय अनियमितताको अखडा बन्दै गएकोले आफूहरुले आन्दोलन गरेको बताउनुभयो ।

उहाँले सरकारले उपलब्ध गराएको शैक्षिक सामाग्रीहरु व्यक्तिगत काममा प्रयोग गर्ने गरेको, व्यवस्थापन हुनुपर्ने भौतिक पूर्वाधार, शौचालय, कम्प्युटर शिक्षा, पुस्तकायलय वर्षाैंसम्म पनि प्रयोगमा नआएको लगायतका समस्याहरु विद्यालयमा देखिएको बताउनुभयो । विद्यालयमा प्रयोगात्मक कक्षाहरु सञ्चालन नगरेको, राज्यबाट दिइने छात्रवृत्ति नियमित र पारदर्शी नभएको, शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थीहरुबीच एकता नभएको, शिक्षकहरु विद्यालयको प्रशासनको अनुमति बिना आफ्नो व्यक्तिगत काममा हिँड्ने गरेको जस्ता समस्याहरु विद्यार्थीले आन्दाेलनमा उठान गरेको उहाँले उल्लेख गर्नुभयो ।

यस्तै विद्यालयको आर्थिक तथा प्रगति विवरण, लेखा परीक्षण सार्वजनिक नगरिएको, वर्षौंदेखि विद्यालयको वार्षिक उत्सव लगायतका गतिविधि नगरिएको, कक्षा ११ र १२ मा नियमित पठन पाठन नै नभएको, विषयगत शिक्षक महिनौसम्म प्रशासन  र व्यवस्थापन समितिको सम्पर्क बाहिर रही पढाई अवरुद्ध गरेको लगायतका समस्याहरु विद्यार्थीले उठाएका छन् । विद्यालयमा भएका समस्याहरुको समाधानका लागि व्यवस्थापन समिति र प्रशासनलाई यस अघि पनि जानकारी गराएको र छलफलबाट सुधारका लागि निर्णयहरु भए पनि कार्यान्वयन नभएको विद्यार्थीको भनाइ रहेको छ । 

विद्यालयका प्रधानाध्यापक मोहनकुमार रोकाले विद्यार्थीले लगाएको आरोप कुनै कुरा सत्य भएपनि मनोमानी नगरेको बताउनुभयो । आफू लगायत केही शिक्षकहरु तालिमको सिलसिलामा नेपालगञ्जमा रहेकाले विद्यालयमा ताला लगाउनुको सबै कारण थाहा नभएको रोकाको भनाइ छ । विद्यालयको कमी कमजोरी भए छिट्टै छलफलबाट समाधानतर्फ लाग्ने उहाँले बताउनुभयो ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितप्रसाद घर्तीले विद्यार्थीहरुले विभिन्न समस्या देखाएर ताला लगाएकोले कारण र समाधानका उपाय सहित आजै छलफल गरिने बताउनुभयो । यस विषयमा शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतमले पढाइ सञ्चालन गर्न समन्वय गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया