आकाशे पानी माग्दै सुँगुर पूजा

 फागुन २६, २०७७ बुधबार १८:१२:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – मठ, मन्दिर, चर्चलगायतका धार्मिक स्थलमा पूजा गरेर आफूले चाहेकाे कुरा मागेको सुन्दै आएको हो । सुँगुरको पूजा गरेर आकाशे पानी मागेको सुन्दा भने आश्चर्य लाग्न सक्छ । तर रुकुम पूर्वको मगर बस्तीमा भने आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका किसानले खडेरी परेपछि सुँगुर पूजा गर्दै पानी मागेका छन् ।

सिँचाइ सुविधा नपाएका जिल्लाका किसानले आकाशे पानी मागेका हुन् । खडेरीमा सिँचाइका लागि आकाशे पानी माग्ने पुस्तौँदेखिको चलन अहिले पनि कायमै छ । रुकुम पूर्वमा अहिले हिउँदे बाली जौ र गहुँ छरिएकाे छ। सिँचाइ सुविधा नभएकाले लामो समयसम्म खडेरी भएपछि स्थानीयले परम्पराअनुसार आकाशे पानी मागेका हुन् । 

मगर बस्तीमा परम्परादेखि खडेरीको बेला उच्च भेगमा पानीको मुहानसम्म पुगेर नाचगान तथा होहल्ला गरेर फर्किने चलन छ । हाेहल्ला गर्दा भूमि देवता अशान्त भएर वर्षा गरिदिने जनविश्वास रहेको छ ।

पुथा उत्तरगङ्गा १० तकसेरामा गोठालो समूहको निर्णयले बुधवार बिहानै भूमि देवतासँग पानी माग्न वृद्धवृद्धा, युवायुवती पानीको मुहान–मुहानमा होहल्ला गरी पूजा गरेका हुन् । पानी माग्ने दिन केही त्यस्तै शब्द बोल्दा कोही पनि रिसाउन नपाउने गोठालो समूहका अध्यक्ष विष्णु बुढामगरले बताउनुभयो ।

यी समुदायले अरू समय फोहर वा जुठो हुन्छ भनेर सुँगुरको मासु लेकतिर लैजाँदैनन् तर पानी नपर्दा झण्डै ३५ सय मिटर उचाइकाे भूभागमा पुगेर सुँगुरको पूजा गर्दछन् ।

लेकमा पूजा गरिसकेपछि केही तल झरेर पानीको अर्को मुहानमा सुँगुरको पूजा गरेर आकाशे पानी माग गर्ने चलन रहेकाे छ । खडेरी भएपछि बाजागाजासहित होहल्ला र मूल पानीमा सुँगुरको पूजा गरेपछि वर्षा हुने जनविश्वास रहेकाे अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

आलु र मकै रोप्ने समय आएकाले आकाशे पानी नपरेपछि किसान चिन्तित भएका छन् । सरकारले सिँचाइ सुविधातर्फ ध्यान नदिएको किसानकाे गुनासाे छ ‌। तीन पालिका रहेकाे रुकुम पूर्वमा पुथा उत्तरगङ्गा र भूमे गाउँपालिकाका खाम भाषी मगर समुदायले लामो समयसम्म पानी नपरेपछि पानीको मूलमा सुँगुरको पूजा गरी आकाशे पानी माग्ने प्रचलन रहेको छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया