यही महिनाभित्र भारतबाट बाँकी १० लाख डोज खोप आउने

 चैत १, २०७७ आइतबार ८:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाविरुद्धको खोप केही ठाउँमा अभाव भए पनि आत्तिहाल्नु नपर्ने विज्ञले बताएका छन् । 

जोखिममा रहेका वर्गलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको विज्ञले बताएका छन् । 

सरकारले अहिले ६५ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप वितरण गरिरहेको छ । यस्तै, हिमाली जिल्लामा ५५ वर्षभन्दा माथिकालाई खोप दिइएको छ । 

जोखिममा परेका यी वर्गलाई खोप दिइन थालेकाले खोप अभाव भए पनि आत्तिनु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर  श्यामराज उप्रेतीले बताउनुभयो ।

उहाँकाअनुसार केन्द्रबाट विभिन्न पालिकामा १९ लाख डोज खोप पठाएकाले अहिलेको लक्षित समूहलाई खोपले धान्ने अवस्था छ । कहीँकतै लक्षित समूहबाहेकलाई खोप दिएको वा अनुमान गरेभन्दा धेरै खोप लगाउन पुगेकाले समस्या देखिएको हुन सक्ने उहाँको भनाइ छ । 

सरकारले गएको २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप दिन अभियान चलाइरहेको छ । तर, खरिद गरेको खोप र कोभ्याक्समार्फत आउने खोपको टुङ्गो नलाग्दा खोप अभियान प्रभावित हुने देखिएको छ । 

यसैबीच, सरकारले यही महिनाभित्र भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरेको खोप नेपाल आउने जनाएको छ । कम्पनीले यही महिनाभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर  श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।

यस्तै, कोभ्याक्समार्फत आउने खोपको थप १९ लाख डोज मे महिनामा आउने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो । 

खोप आउनासाथ पालिकाहरुसँग समन्वय गरेर वितरण गरिने हुँदा केही ढिलो गरी खोप आए पनि कुनै समस्या नहुने उहाँको दाबी छ । नेपालले भारतसँग २० लाख डोज खोप खरिद गरे पनि १० लाख मात्रै नेपाल भित्रिएको छ । यस्तै, यसअघि  भारतले अनुदानमा १० लाख डोज खोप दिएको थियो भने कोभ्याक्समार्फत अनुदानमा तीन लाख ४६ हजार खोप नेपाल भित्रिएको थियो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया