ढुलमुले नीति लिएर कांग्रेसले अवसर गुमाउनु हुँदैन : वरिष्ठ नेता पौडेल

 चैत १, २०७७ आइतबार २०:१६:४४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ढुलमुले नीति लिएर कांग्रेसले आफूले पाएको अवसर गुमाउन नहुने बताउनुभएको छ । कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा स्व. खड्काको तस्बिरमा माल्यार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले संविधानमै नभएको व्यवस्थाविरुद्ध संसद् विघटन गरेपछि प्रदेश १ र वाग्मती प्रदेशमा सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यही अवसरमा कांग्रेसले अविश्वासको पक्षमा मतदान गरी दुवै प्रदेशमा सरकार गिराउने र केन्द्रको सरकारलाई पनि गिराउने अवसर थियो तर त्यो अवसर गुम्यो, हामीले गुमायौँ । त्यसैले फेरि पनि अर्को अवसर आएको छ, त्यो पनि गुम्ला भन्ने मलाई डर छ’, उहाँले भन्नुभयो । 

पार्टीले अवसर गुमाउनु हुन्न भन्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘कांग्रेसले लकपक–लकपक गरेर केपी ओलीसँग के लिनुदिनु छ, केही छ भने भन्नुपर्‍याे तर केपी ओलीसँग त हाम्रो कसरी मिल्छ ? त्यसैले किन संशयमा बस्ने ? किन ढुलमुल नीति लिने ? त्यसकारण पार्टीले ढुलमुल नीति लिने बेला छैन । हामी स्पष्ट भएर अगाडि बढ्यौँ भने नेपाली नागरिककाे विश्वास हामीमाथि हुन्छ ।’

वरिष्ठ नेता पौडेलले पार्टीमा के भइरहेको छ विचार गर्दै राख्नुस् भन्दै नेतृत्व भनेको के हो ? नेतृत्वले हामीलाई कसरी लैजान्छ ? कुन तरिकाले हामीलाई सुरक्षित अवतरण गराउँछ ? भन्ने विषयमा कार्यकर्ताले सजग भएर हेरिराख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेताले कार्यकर्ताको मूल्याङ्कन मात्रै होइन, कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्ने हैसियत राख्नुपर्छ । नेताहरू के गरिरहेका छन् ? कार्यकर्ताले मूल्याङ्कन गर्नुपर्छ अनि मात्रै पार्टी लोकतान्त्रिक हुन्छ । यो पार्टीलाई लोकतान्त्रिकीकरण गर्ने हो, यो सोसाइटीलाई लोकतान्त्रिकीकरण गर्ने हो । पुरानो अधिनायकवादी संस्कार र संस्कृतिमा हुर्काउने होइन, सामन्ती संस्कृतिमा अब बस्न मिल्दैन । सामन्ती संस्कृतिबाट अघि बढ्ने हो ।’

सैद्धान्तिक बहसमा कम्युनिस्टलाई तानेर बहसमा ल्याउन सके र नागरिककाे माझमा नङ्ग्याउन सक्नुपर्ने बताउँदै वरिष्ठ नेता पौडेलले आउँदो चुनावमा कांग्रेस विजयी हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले आफू अल्पमतमा परेपछि संसद् विघटन गरेको प्रसङ्गमा असंवैधानिक कदमलाई संवैधानिक बनाउन संसद् पुनर्स्थापना भएको बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले पार्टीको बारेमा आफूले सही र विवेक प्रयोग गरेर गर्ने कुरामा अन्य नेताले बिगारेर वक्तव्यबाजी गर्ने गरेको आरोपसमेत लगाउनुभयो । पार्टीले सत्ताका लागि मरिहत्ते गर्ने होइन, व्यवस्थाका लागि कांग्रेस लड्छ र त्यसैगरी नै कांग्रेस लड्दै जानुपर्ने उहाँको भनाइ थियो ।  

अन्तिम अपडेट: चैत २८, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया