ढोरपाटनमा बढ्दै पर्यटकीय चहलपहल (तस्बिरहरू)

 चैत २, २०७७ सोमबार १५:९:४७ | राजु लामिछाने
unn.prixa.net

रुकुम – कोरोना भाइरसको महामारीका कारण ढोरपाटनमा सेलाएको पर्यटन गतिविधि चलमलाउन थालेको छ । सुन्दर पाटन, आकर्षक बुकी, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, व्यवस्थित सिकारको व्यवस्था ढोरपाटन सिकार आरक्षका केही विशेषता हुन् । 

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा प्राकृतिक सौन्दर्यता र व्यवस्थित सिकारको व्यवस्थाका कारण आन्तरिक र बाह्य पर्यटकको नियमित आगमन हुन्छ । पेसेवर विदेशी सिकारीका लागि यो आरक्ष एक प्रमुख गन्तव्यकै रूपमा रहेको छ । यस आरक्षका कारण नेपालले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटन विकास भएको छ । 

गएको वर्ष कोरोना महामारीका कारण भने पर्यटक आवागमन ठप्पै भयो । यस वर्ष भने आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । दैनिकजसो देशका विभिन्न जिल्लाबाट ढोरपाटन भ्रमणका लागि आउनेको सङ्ख्या बढिरहेको स्थानीयबासीले बताएका छन् ।

आरक्षणमा बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई पटक सिकारका लागि खुल्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले समय–समयमा सिकार गरिने मुख्य वन्यजन्तु नाउर र झारलको गणना तथा अनुगमन गरी वार्षिक कोटा निर्धारण गरी प्रतिस्पर्धाको आधारमा सिकार गराउने गरेको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।

यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा तोकिएको जनावरको सिकार गर्न पाइन्छ । यस आरक्षमा पेसेवर लाइसेन्स प्राप्त सिकारीले नौ नाउर र ११ झारलको मात्र सिकार गर्न पाउने प्रावधान छ । आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लङ्गुरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न भने निषेध गरिएको छ ।

पश्चिम नेपालमा धौलागिरि हिमशृङ्खलाभित्र रुकुम पूर्व, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लाको एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा यो आरक्ष फैलिएको छ । विसं २०४० मा स्थापित यस आरक्षले २०४४ मा सरकारी मान्यता प्राप्त गरेको हो । यसको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमाल रहेका छन् । यो आरक्ष समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार पाँच सय उचाइमा अवस्थित छ । 

यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवम् संरक्षित पक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत एक सय ६४ प्रजातिका चरा पाइन्छन् ।

बाग्लुङगको नाम चलेको अर्थात् मध्यपहाडी लोकमार्ग छेउमा रहेको बुर्तिवाङ बजारबाट यो आरक्ष ३५ किलोमिटर पर पर्छ । बुर्तिवाङ बजारबाट पैदल एक दिन हिँडेपछि वा साढे दुई घण्टाको कच्ची सडकको जीप यात्रामा ढोरपाटन पुग्न सकिन्छ । घोडचढी, स्थानीय रहनसहनको अध्ययन, अवलोकन, स्थानीय अर्गानिक भोजनलगायत यहाँका अन्य विशेषता हुन् ।

(ढोरपाटनबाट फर्केपछि) 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया