दोस्राे आईओटी एक्स्पो २०२१ सम्पन्न, पाँच हजार जनाले गरे अवलोकन

 चैत २, २०७७ सोमबार २०:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – कम्प्युटिङ सोलुशनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वेरिका कलेज अफ आईटी एण्ड इ–कमर्सद्वारा आयोजित चार दिने आईओटी प्रदर्शनी पाँच हजार जनाले अवलोकन गर्दै सम्पन्न भएको छ ।

फागुन २८ गते देखि चार दिनसम्म डिल्लीबजारमा भएको कार्यक्रममा अटोनोमस भेइकल, स्मार्ट ह्विलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैँचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोन व्यवस्थापन, रोबटिक हातलगायत ३० प्रोजेक्टको नमुना प्रदर्शनी गरिएको थियो। स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनीमा राखिएका स्मार्ट सोलुशनका मोड्युल सफ्ट्वेरिका कलेजमा कम्प्युटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन् ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधारणलाई कम्प्युटिङ सोलुशनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताउनुभयो । निःशुल्क प्रवेश रहेको प्रदर्शनीमा राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आईटी क्षेत्रका जिज्ञासुले अवलोकन गरेको पौडेलले बताउनुभयो ।

प्रविधिको सदुपयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने बुझ्न प्रदर्शनीले सहयोग गरेको पौडेलको तर्क छ । बेलायतको कोभेन्ट्री विश्व विद्यालयको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको यस सफ्ट्वेरिका कलेजले बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेशन हबसमेत तयार गरेको छ । अहिलेकाे प्रदर्शनी त्यही इनोभेशन हबमै विद्यार्थीले तयार गरेका हुन् ।

कलेजको पढाइ सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकून् भनेर इनोभेशन हबको परिकल्पना गरिएको हो। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले व्यावसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था गरेकाे कलेजका निर्देशक अमृत थापाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया