स्पष्टीकरण हामीले हाेइन ओलीले दिनुपर्छ : भीम रावल

 चैत १०, २०७७ मंगलबार १९:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी उपाध्यक्ष डाक्टर. भीम रावलले नेपाली नागरिकले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बेला आएको बताउनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह सम्बद्ध विद्यार्थीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरूलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताउनुभएको छ । 

उहाँले स्पष्टीकरण आफूहरूले नभइ पार्टी अध्यक्ष ओलीले दिनुपर्ने बताउनुभयो । प्रतिनिधि सभा विघटन गर्ने, एमसीसीजस्ता वितण्डाहरू अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधि सभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली नागरिकले स्पष्टीकरण सोध्नुपर्ने रावलकाे भनाइ छ । त्यसको जवाफ ओलीले दिनुपर्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपाली नागरिकले केपी शर्मा ओलीलाई तपाईँले प्रतिनिधि सभा विघटन किन गर्नुभयो ?, आफ्नो विधान मिचेर मनपरी किन गर्नुभयो ?, तपाईँले पहिल्यै असमान सन्धि सम्झौताहरू र एमसीसी जस्ता अनेकौँ वितण्डाहरू अगाडि किन सार्नुभयो ? तपाईँले नागरिकता विधेयकलाई प्रतिनिधि सभाबाट किन पारित गर्न दिनुभएन ? तपाईँले नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरीतका काम किन गर्नुभयो ? नागरिककाे जनादेशलाई तपाईँले किन विखण्डित गर्नुभयो ? भनेर तपाईँ हामी नेपाली नागरिकले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्छ, केपी शर्मा ओलीले जवाफ दिनुपर्छ ।’

उपाध्यक्ष रावलले नवौँ महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्नसमेत गर्नुभयो । अहिलेसम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरूलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टी विधान विपरीत नवौँ राष्ट्रिय महाधिवेशनको फैसला विपरीत निर्णय गर्ने व्यक्तिले हामीलाई तपाईँहरूले अनुशासन मान्नुभएन, तपाईँहरू केन्द्रीय कमिटीमा आउनुभएन अनि तपाईँलाई स्पष्टीकरण सोध्नु भन्दाखेरी अलिकति लाज मान्नुपर्ने हो । हामी केपी शर्मा ओलीको फागुन २८ गते बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौँ ।’ 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया