होली मनाउन रोक तर हजारौँ कार्यकर्ता भेला गरेर कार्यक्रम सञ्चालन

 चैत १४, २०७७ शनिबार १७:४८:४९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – गएको ११ चैतमा जिल्ला प्रशासन कार्यालय कैलालीले आंशिक निषेधाज्ञा जारी गर्दै भन्यो, ‘होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भिडभाड वा जुलुस गर्न पाइने छैन् ।’

सबै कार्यालय, शैक्षिक संस्थाहरुमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न आदेशमार्फत अनुरोध गरिएको छ । यस्तै बैठक, सेमिनार गोष्ठी भर्चुअल माध्यमबाट गर्ने, यदि अत्यावश्यक भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भनिएको छ । होटेल, रेष्टुरेन्ट तथा बारहरुमा भिडभाड नगर्न समेत जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ । 

प्रशासनको आदेशपछि धनगढीमा मात्रै होली विषेश कार्यक्रमको तयारी गरेका दर्जन बढी संस्थाले कार्यक्रम स्थगित गरे । तयारी पूरा भइसकेका मेला, महोत्सव र खेलकुद प्रतियोगिता पनि रोकिए । आयोजकले जिल्ला प्रशासनले लगाएको आशिंक निषेधाज्ञा पालना गरे । तर शुक्रबार युवा संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै भन्यो, ‘भोलिको कार्यक्रममा हामी १५ हजार बढीको सहभागिता गराउँछाैं ।’

युवा संघले भनेको भोलिको कार्यक्रम थियो जिल्ला कमिटी घोषणा र सपथ ग्रहण । जुन आज धनगढीमा भइरहेको छ । जहाँ संघीय सरकारका उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरी सहभागी छन् । उहाँहरुसँगै एमालेका युवा नेता महेश बस्नेत र बचनबहादुर सिंह पनि सहभागी छन् । सयौँको संख्यामा एमाले कार्यकर्ता पनि सहभागी छन् ।

उनीहरुले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको आदेशको कुनै प्रवाह गरेका छैनन् । न सामाजिक दूरी कायम गरिएको छ न त सहभागी र मञ्चका अतिथीले नै मास्कको प्रयोग गरेका छन् । शुक्रबार धनगढी पुगेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उद्योगमन्त्री लेखराज भट्टले देशमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको तर लकडाउन नहुने बताउनुभएको थियो ।

उहाँले जोखिम न्यूनीकरणका लागि सरकारले थप सतर्कता अपनाउने समेत जानकारी दिनुभएको थियो । तर आज युवा संघको कार्यक्रममा सहभागी हुँदा मन्त्री भट्ट स्वयमले नै धेरै समय मास्क प्रयोग गर्नुभएको थिएन । 
प्रशासनको आदेश सर्वसाधरणलाई मात्र भएको तर नेता तथा उनका कार्यकर्तालाई यसले नछोएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका छन् ।

धनगढीका ईन्द्र चौधरीले जनताका लागि मात्रै आदेशमाथि आदेश जारी गरेको प्रशासनले सरकारका मन्त्रीमाथि कुनै वास्ता नगरेको बताउनुभयो ।

‘सामाजिक सद्भावको पर्व होली मनाउन पनि यहाँ प्रशासनले रोक लगाएको छ’, उहाँले भन्नुभयो, ‘तर सरकारका मन्त्रीलाई भने हजारौँ कार्यकर्ता सहभागी गराएर कार्यक्रम गर्न कसले अनुमती दियो ?’

यता कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले भिडभाड नगर्न आदेश जारी भइसकेको बताउँदै यस कार्यक्रममा पनि भिडभाड नगर्न भनिएको बताउनुभयो ।

‘हामीले होली मात्र होइन जुनसुकै कार्यक्रममा पनि भिडभाड नगर्न भनेका हौँ । मन्त्री ज्यू (लेखराज भट्ट)ले पनि शुक्रबार विमानस्थलमा सञ्चारकर्मीसँग त्यही कुरा भन्नुभएको हो । आजको कार्यक्रममा जनस्वास्थ्यको मापदण्ड नै मानिएको छैन् भने हामी कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’

जिल्ला प्रशासनले जारी गरेको आदेशमा आदेशको अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने उल्लेख गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया