कारबाही गर्दा डरले थरथर काम्छन् कि भन्ने भ्रम केपी ओलीमा छ : नेता नेपाल

 चैत २४, २०७७ मंगलबार १६:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले केपी ओलीले आफूहरूलाई ६ महिनाका लागि निलम्बन गरेर आफ्नो वास्तविक स्वरूप देखाएको बताउनुभएकाे छ । मङ्गलवार आफू निकट वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले यस्ताे बताउनुभयाे । 

उहाँले आफूहरूमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको पनि बताउनुभयो । अहिले प्रतिनिधि सभा बिउँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दै हिँडिरहेको नेता नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीले आफ्नो वास्तविक स्वरूप देखाउनुभयो र अहिले आएर पार्टीको स्थापना गर्ने हामी जस्ता नेतालाई ६ महिनाका लागि निलम्बन भनेर घोषणा गर्नुभयो । मलाई निलम्बन गर्ने घोषणा गर्नुभयो । भीम रावललाई निलम्बन गर्ने घोषणा गर्नुभयो अनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई त ब्राइकेटमा के पनि लेखिदिएको छ भने– तपाईँहरू प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ, अहिलेलाई हटाएको छैन । डरले थरथर काम्छन कि, घुँडा टेक्छन् कि, समर्पण गर्छन् कि, मेरो पद जोगाइदेउ भन्छन् कि भनेर लेखेको होला । त्यो पद त उहीले गइसकेको थियो । उहीले भङ्ग गरेको होइन प्रतिनिधि सभा । प्रतिनिधि सभा त केपीले नचाहँदा नचाहँदै पनि सर्वोच्च अदालतले बिउँताइदिएको हुनाले केही महिनासम्म बसेका छौँ । सँधै सुनेका छौँ, अब चुनाव छिटो हुन्छ । केपी ओलीले नै चुनाव गराउँछन्, अब हेर्न बाँकी नै छ ।’

नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरूले आफूहरूलाई पहिलादेखि नै सताउँदै आएको पनि बताउनुभयो । २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेशन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिँडेको स्पष्ट देखिएको पनि उहाँले बताउनुभयो । अहिले आफूहरूले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरे पनि केपी ओलीको अगाडि नसकेको पनि नेता नेपालले बताउनुभयो । केपी ओलीको प्रवृत्तिलाई आफूहरूले स्वीकार गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

ओलीसँग आफूहरूको विचारमा विवाद भएको नेता नेपालले बताउनुभयो । आफूहरू सामूहिकता, बहस र विचार, मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको नेता नेपालकाे जिकिर छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया