रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
वायु प्रदूषणका कारण आँखाको समस्या लिएर अस्पताल जानेहरू बढेका छन् । अरू विभिन्न अस्पतालहरूमा जस्तै काठमाण्डौको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालमा पनि आँखाका बिरामीको चाप बढेको छ ।
सामान्य अवस्थामा भन्दा झण्डै २५ प्रतिशत आँखाका बिरामी बढेका हुन् । अझै पनि काठमाण्डौलगायत केही ठाउँको वायु प्रदूषणको अवस्था खराब नै छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको तहभन्दा निकै खतरनाक अवस्थामा रहेको छ ।
काठमाण्डौको बनावट कचौरा आकारको भएकाले हावा तलमाथि गर्न पाउँदैन । चिसो हावा तल नआउँदा तातो हावा तल्लो तहमा नै रहन्छ । त्यसैले काठमाण्डौमा अन्य ठाउँको तुलनामा वायु प्रदूषण धेरै भएको हो ।
अत्यधिक मात्रामा वनमा लागेको डढेलो, गाडीबाट निस्केको धुवाँ र धुलो, कलकारखानाका कारण निस्कने धुवाँले पनि वायु प्रदूषण बढाएको छ । हावा चलेको छैन । वायु प्रदूषणको मात्रा बढिरहेको छ । यस्तो वातावरणले श्वासप्रश्वास र आँखासँग सम्बन्धित समस्या निम्त्याउँछ ।
प्रदूषणको असर आँखाको जाली र नानीमा धेरै
प्रदूषणको मात्रा बढ्दै जाँदा आँखाको जाली र नानीमा बढी असर गर्छ । सुरुसुरुमा आँखामा धुलो वा बालुवा परेको जस्तो गरी बिझाउँछ, बिझाएपछि धेरैले आँखा माड्छन् अनि रातो हुन्छ । त्यसपछि पोल्न थाल्छ ।
प्रदूषणका कारण आँखाको दृष्टि गुम्ने सम्भावना भने हुँदैन । आँखा धेरै माडेमा भने घाउ हुन्छ । अहिले अस्पताल जानेमध्ये धेरैमा आँखा पोल्ने, बिझाउने र रातो हुने समस्या देखिएको छ । वायु प्रदूषणले आँखामा दीर्घकालीन समस्या पनि निम्त्याउन सक्छ ।
पछिल्लो समय मानिस स्वास्थ्यप्रति अलि धेरै सजग बन्दै गएका छन् तर वायु प्रदूषणको समस्या नेपालमा धेरै अगाडिदेखिकै समस्या हो । प्रदूषणका कारण पछि गएर आँखाको जाली पाकेर दुख्ने सम्भावना धेरै हुन्छ ।
जाडो र गर्मीको बीचको समय जस्तै चैत, वैशाख र कात्तिक, मङ्सिरमा आँखाका बिरामी बढ्छन् । चैत, वैशाख र कात्तिक, मङ्सिरमा एलर्जीलगायतका समस्या धेरै हुने गर्छ । एलर्जी भएमा आँखा सुन्निने र बेस्सरी चिलाउने हुन्छ ।
आँखामा समस्या हुने अहिलेको समयमा प्रदूषणले झन् समस्या थपिदिएकाले सचेत हुनुपर्छ । प्रदूषणले सबै खालका आँखाका क्षमता भएकालाई उत्तिकै असर पार्छ ।
आँखा कसरी जोगाउने ?
प्रदूषण भयो भन्दैमा सबै काम छडेर घरमै बसेर पनि सम्भव हुँदैन । घर बाहिर निस्कँदा विभिन्न खालका सुरक्षा सावधानी अपनाउनुपर्छ । बाहिर हिँड्दा चस्मा लगाउने, प्रशस्त मात्रामा पानी पिउने, भिडभाडमा कम जाने गर्नुपर्छ ।
आँखा रातो भयो वा बिझायो भनेर आँखामा पानी छ्याप्नु हुँदैन । आँखा रातो भयो, चिलायो, बिझायो भनेर आँखामा पानी छ्याप्दा त्यसले झनै असर गर्छ । बिहान र बेलुका धेरै प्रदूषण भएको बेला घरबाट बाहिर निस्कनु हुँदैन ।
आँखा अलिअलि बिझाउँदैमा र पोल्दैमा अस्पताल गइहाल्न पर्दैन तर आँखा रातो भयो, आँखाबाट आँसु आउन थाल्यो, दुख्यो भने एक पटक नजिकैको आँखा अस्पतालमा गएर जाँच गर्ने र डाक्टरको सल्लाह लिनुपर्छ ।
(नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका आँखा रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलसँग गरिएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ढुङ्गेल नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका आँखा रोग विशेषज्ञ हुनुहुन्छ ।