‘देशमा व्यवस्था परिवर्तन भएअनुसार राजनीतिक नेतृत्वको चिन्तन र संस्कार परिवर्तन हुन सकेन’

 बैशाख १, २०७८ बुधबार २०:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भएअनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ । 

अखिल (छैठौँ) ले बुधवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भए पनि राजनीतिक नेतृत्वहरूमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताउनुभएको हो । त्यसको विरुद्धमा अझै लड्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयाे ।

एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । परिवर्तित समाजमा मार्क्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरू महत्त्वपूर्ण भए पनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रूपान्तरण हुन गाह्रो हुने मन्त्री रायमाझीकाे भनाइ छ । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताउनुभयो । अहिले समाजवादको राजनीतिक प्रवृत्ति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरू विस्थापन नभएको उहाँले बताउनुभयो । संसद् विघटनदेखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्ति केन्द्रहरूबाट भएको नेता गुरुङले आराेप लगाउनुभयाे । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गर्नुभयो । ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि उहाँले बताउनुभयो । यसलाई संस्थागत गर्न चुनौती रहेको उहाँकाे भनाइ छ । नेपाली नागरिकले आन्दोलनबाट राजतन्त्र हटाए पनि अहिले देशी विदेशी शक्तिहरू राजतन्त्र स्थापित गर्न लागिपरेको उहाँले बताउनुभयो । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले अझै पनि क्रान्ति सफल नभएको बताउनुभयो । क्रान्ति पूरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नु पर्ने तर अहिले सार्वभौमिकता नै धरापमा परेको उहाँले बताउनुभयो । 

कार्यक्रममा अखिल (छैठौँ) ले आफ्ना पूर्वअध्यक्षहरूलाई सम्मान गरेको थियो । यस्तै नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौँ) को इतिहास नामको पुस्तक विमोचन पनि गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया