प्रदेशहरुमा नयाँ सत्ता समीकरणको खेल सुरु, कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

 बैशाख ३, २०७८ शुक्रबार ७:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - केन्द्रमा नयाँ सत्ता समीकरणको प्रयास भइरहँदा प्रदेशहरुमा भने प्रक्रिया नै सुरु भएको छ ।

अविश्वासको प्रस्ताव पेस भएको कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने तयारी गर्दै हुनुहुन्छ । आज बस्ने प्रदेशसभा बैठकमा उहाँले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिन खोज्नुभएको हो । 

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेसँगै नेकपा एमाले र माओवादी केन्द्रले कांग्रेसलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । एमालेले विश्वासको मत असफल बनाउन र माओवादीले विश्वासको मतमा बहुमत जुटाउन नेपाली कांग्रेसको साथ खोजेको हो । दुवैको तानातानमा कांग्रेस रहेको छ ।

३९ सदस्यीय कर्णाली प्रदेशमा नेकपा एमालेको एक सभामुखसहित २० सांसद रहेका छन् । यस्तै माओवादी केन्द्रको १२, कांग्रेसको ६ र राप्रपाको १ सिट रहेको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस, राप्रपा र एमालेभित्रकै माधव नेपाल समूहको कम्तीमा एक सांसद आफूतिर तान्नुपर्ने देखिन्छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली समूहका मानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ प्रदेश सरकार गठन गर्ने सहमतिसहित कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव पेस गरेका हुन् । 

यस्तै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको छ । अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले अधिवेशन नै अन्त्य गर्नुभएको विपक्षी दलका सांसदहरुले आरोप लगाइरहेका छन् । उनीहरुले तत्काल विशेष अधिवेशन माग गरेका छन् ।

यस्तै वाग्मती प्रदेशसभा बैठक पनि निरन्तर प्रभावित हुँदै आएको छ । प्रमुख प्रतिपक्षी माओवादीले उठाएका मागमा कांग्रेस, विवेकशील साझा र अरु दलहरुलेसमेतका सांसदहरुले माओवादीको मागमा समर्थनसहित विरोधलाई निरन्तरता दिएका छन् ।

वाग्मती प्रदेशसभा बैठक लगातार चौथो पटकसम्म अवरुद्ध हुँदै आएको छ । यस्तै लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा नयाँ प्रदेश सरकार गठनको कसरत भइरहेको छ । केन्द्रमा नयाँ सत्ता समीकरणको ठोस सहमति नबने पनि प्रदेशहरुमा भने माओवादी र नेपाली कांग्रेसबीच औपचारिक रुपमै सत्ता गठबन्धन सुरु भएको हो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया