काेराेना जोखिमका आधारमा विद्यालय बन्द गर्ने वा खोल्ने अधिकार पालिकालाई

 बैशाख ३, २०७८ शुक्रबार १४:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बैठकपछि मन्त्रालयले विज्ञप्ति निकालेर विद्यालयहरूमा सावधानी अपनाउन आग्रह गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएर विद्यालय बन्द गर्न विज्ञहरूले सुझाव दिइरहेका बेला शिक्षा मन्त्रालयले भने विद्यालय बन्द नगर्ने आशयको विज्ञप्ति निकालेको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर, आलोपालो वा सिफ्टमा भए पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले विद्यालय बन्द गर्नुपर्ने अवस्था आए पालिका र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गर्न आग्रह गरेको छ । विद्यालयमा मास्क, स्यानिटाइजर, साबुन पानीलगायत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

बैठकपछि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बिहीवार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेशअनुसार भौतिक रूपमा अथवा वैकल्पिक रूपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उहाँले बताउनुभयो ।

मन्त्रालयले शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिकोत्सवजस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ । उहाँले भन्नुभयो, ‘कोभिड सङ्क्रमणको फेरि बढ्दो अवस्था छ भनेर स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरिसकेपछि हाम्रो यसमा गम्भीर ध्यानाकर्षण भएको छ । यस परिस्थितिमा मन्त्रालयमा हामीले शिक्षा क्षेत्रमा पर्न सक्ने विभिन्न असरको बारेमा विभिन्न कोणबाट छलफल गरेका छौँ । अर्को निर्णय नभएसम्मका लागि जुन नेपाल सरकार मन्त्री परिषद्ले गर्छ, त्यस्तो अवस्थामा पनि शिक्षण सिकाइलाई निरन्तरता दिनलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गरेर स्थान विशेष र जिल्ला विशेषमा जुन हाम्रो जिम्मेवारी तोकिएको छ, डीसीसीएमसी छ, उहाँहरूको निर्णय र स्थानीय परिवेशअनुसार भौतिक अथवा वैकल्पिक दुवै विधिलाई जारी राख्न सक्ने हामीले निर्णय गरेका छौँ । ’

विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्य ढाँचा–२०७७’ अनुरूपको सिकाइका विभिन्न विधि अवलम्बन गर्न मन्त्रालयको आग्रह छ । प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिनसमेत मन्त्रालयले आग्रह गरेको छ । सचिव थपलियाले भन्नुभयो, ‘विद्यालय सञ्चालन गर्नुपर्दा मन्त्रालयबाट जारी भएको ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ छ, त्यसमा विभिन्न शिक्षण सिकाइका विधि, प्रक्रियाका बारेमा उल्लेख छ । त्यसको अवलम्बन गरेर, प्रतिकूल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन अभिभावक, शिक्षक, सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेका छौँ ।’

सम्बन्धित पालिका तथा विद्यालयले वैकल्पिक सिकाइ ढाँचाको पालना गर्दै सिकाइलाई निरन्तरता दिनेमा शिक्षा मन्त्रालय विश्वस्त रहेको पनि सचिव थपलियाले बताउनुभयो ।

  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया