निर्मला हत्या प्रकरणः रहस्यमय बन्दै घटना, प्रहरी नै शंकाको घेरामा

 भदौ ६, २०७५ बुधबार १३:४३:४० | दुर्गा उपाध्याय

कञ्चनपुर – निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई जोगाउन प्रयास गरेको भन्दै सर्वत्र त्यसको विरोध भइरहेको छ । 

निर्मला पन्तको वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले बुधबार पनि प्रदर्शन तथा आन्दोलनका कार्यक्रम जारी राखेका छन् । 

प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा भिमदत्त नगरपालिका–१९, बागफाँटाका मानसिक रुपमा अस्वस्थ दीलिप बिष्टलाई सार्वजनिक गरेपछि जनस्तरमा आक्रोश बढेको छ ।

आक्रोशित स्थानीयको भिडले जिल्ला प्रशासन अगाडि प्रदर्शन गरिरहेका छन् भने वास्तिविक दोषी पत्ता लगाउन माग गर्दै बजार व्यवसाय बन्द गरिएको छ ।  

को हुन् दीलिप बिष्ट ?

बिष्ट यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा ९ वर्ष कारागारको सजाय भोगिसकेका व्यक्ति हुन् । उनी आपराधिक पृष्ठभूमिकै भए पनि निर्मलाको बलात्कार र हत्यामा उनको संलग्नता स्थानीयका लागि अपत्यारिलो कथा बनेको छ ।

साथीको घर गएकी निर्मलाको शव मूल बाटोबाट झण्डै सय मिटरजति भित्र उखुबारीमा फेला परेको थियो भने साइकल पचास मिटरको दूरीमा फेला परेको थियो ।

निर्मलालाई मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले मूल सडकबाट झण्डै सय मिटर भित्र एक्लैले घिसारेर लगेको बिष्टले स्वीकारेको प्रहरीले बताए पनि उनको मानसिक र शारीरिक अवस्था हेर्दा त्यो सम्भव देखिँदैन । 

यसअघि प्रहरीले निर्मलाको बलात्कार र हत्या घटनास्थलमा नभएको दावी गरेको थियो । तर बिष्टलाई पक्राउ गरेपछि भने घटनास्थलका बारेमा प्रहरीले जवाफ दिन सकेको छैन । न त पत्रकार सम्मेलनमा एसपी डिल्लीराज बिष्टले घटनाका सम्बन्धमा पत्रकारहरुले गरेका कुनै पनि प्रश्नको उत्तर दिनुभयो । 

त्यस्तै साइकलसहित रहेकी निर्मलालाई मूलसडकबाट उखुबारीसम्म त्यति सहजै लैजान सक्यो वा एकजनाको मात्र प्रयासमा उक्त घटना भयो भन्नेबारे स्थानीयले विश्वास गर्न सकिरहेका छैनन् । 

यद्यपि घटना भएलगत्तै प्रहरीले निर्मलाको सामूहिक बलात्कारपछि हत्या गरिएको बताउँदै आएको थियो । तर पत्रकार सम्मेलनमा बोल्दै डीएसपी ज्ञानबहादुर सेटीले बालिकाको बलात्कारपछि घाँटी थिचेर मारेको बताउनुभएको थियो । उहाँका अनुसार पोष्टमार्टम रिपोर्टमा एक जनाले घाँटी थिचेको देखिन्छ ।

यस्तो छ प्रहरीको दावीमा शंका गर्नुको कारण

बिष्ट महेन्द्रनगर बजारमा माग्दै हिँड्ने भएकाले पनि अधिकांशले उनलाई चिन्ने गर्दछन् । 

मानसिक र शारीरिक रुपमा अस्वस्थ भएकाले पनि उनलाई फसाएर वास्तविक अपराधीलाई जोगाउन खोजेको भन्दै जनस्तरमा आक्रोश बढेको छ ।

यद्यपि, निर्मलाको बलात्कार र हत्या प्रकरणमा प्रहरीको सुरुदेखि नै शंकास्पद भूमिका देखिन्छ । यसअघि पनि प्रहरीले चक्रदेव बडू नामका युवकलाई निर्मलाको हत्याको जिम्मेवारी स्वीकार्न दबाब दिँदै दुई साता बढी हिरासतमा राखेको थियो भने अर्का एक युवकलाई समेत यस्तै दबाब दिएको खुल्न आएको छ । 

प्रहरीले दीलिपले निर्मलाको बलात्कार र हत्या आफूले गरेको स्वीकार गरेको दावी गरेको छ । तर उनलाई दोषी सावित गर्न प्रहरीसँग यथेष्ट प्रमाण नभएपछि घटनाको २६ औं दिनमा निर्मलाका बाबुलाई घटनास्थलमा लगेर बिष्टको लुगा फेला पर्न सक्ने भन्दै लुगाको टुक्रा खोजेजस्तो नाटक गरेको छ । 

प्रहरीले घटनास्थलमा दीलिपको सर्टको खल्तीको टुक्रा भेटिन सक्ने भन्दै आफूलाई पनि घटनास्थल लगेको र केही बेरमा नाटकीय रुपमा लुगाको टुक्रा भेटिएको निर्मलाका बुवाको भनाई छ । 

घटना भएको २५ दिनसम्म घटनास्थलबाट केही बरामद नगरेको प्रहरीले एकैछिनमा एकाएक लुगाको टुक्रा भेटाउनुले प्रहरीमाथि नै शंका उब्जिएको छ । पन्तका अनुसार प्रहरीले बोलाएर सोमबार अनुसन्धानमा सजिलो हुने भन्दै दीलिपविरुद्ध जाहेरी दिन समेत दबाब दिएको थियो । बालिकाको शव भेटिएसँगै उनको शव हेर्न सयौँको संख्यामा सर्वसाधारणको घटनास्थलमा उपस्थिति थियो । 

आरोपीद्वारा आरोप अस्वीकार

प्रहरीले बिष्टले निर्मलाको हत्या गरेको अभियोग लगाएर उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको बताए पनि आरोपी बिष्टले भने आफूलाई फसाउन खोजिएको जिल्ला अदालतमा बयान दिएका छन् । उनलाई अनुसन्धानका लागि भन्दै १० दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । 

प्रहरीले समेत विगतको पृष्ठभूमिलाई आधार मानेर बिष्टलाई पक्राउ गरेको जनाएको छ । तर बिष्टका आफन्त र छिमेकीले भने उनलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको बताएका छन् ।

प्रहरीकै भनाईमा दुई मत

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटीले घटनाको कुनै तथ्य पत्ता नलागेको बताइरहँदा प्रहरी प्रमुख डिल्लीराज बिष्टले भने अनौपचारिक रुपमा ९० प्रतिशत अनुसन्धान सकिएको बताउने गरेका थिए । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले समेत अनुसन्धानमा स्थानीयको सहयोग नभएकाले सत्यतथ्य पत्ता लगाउन कठिन भएको बताउने गरेको थियो ।

तर सोमबार प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा मानसिक रुपमा अस्वस्थ भएका दीलिप बिष्टलाई सार्वजनिक गरेपछि निर्मला हत्याकाण्ड झन् रहस्यमयी बनेको छ ।

एसपीको भूमिकामा प्रश्न 

निर्मलाको बलात्कारी र हत्यारालाई पत्ता लगाउन स्थानीयले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन एसपी बिष्टले कर्फ्यू लगाउन खोजेको खुल्न आएको छ ।

घटनाको विरोध गर्दै स्थानीयले अपराधी पत्ता नलागेसम्म बालिकाको अन्त्येष्टि गर्न नदिने भन्दै आन्दोलन र प्रदर्शन जारी राखेपछि एसपी बिष्टले बल प्रयोग गरी कफ्र्यू लगाउन खोजेका थिए । स्थिति अझ बिग्रिने भन्दै स्थानीय प्रशासनले तत्काल कर्फ्यू लगाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । 

तर स्थानीयको प्रदर्शनमा प्रहरीले २२ शेल अश्रु ग्यास भने प्रहार गरेको थियो । स्थानीयवासीले गरेको विरोध प्रदर्शनमा एसपीले बल प्रयोग गर्नुले पनि उनलाई अझ विवादमा मुछेको छ । 

विरोेध प्रदर्शनमा प्रहरी ज्यादती

स्थानीयबासीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरीसहित प्रदर्शनकारी पनि घाइते भएका छन् । 

बालिकाको बलात्कार र हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न चौतर्फी दबाब आएपछि प्रहरीले घटनालाई ढाकछोप गर्न मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई पक्राउ गरेको आम नागरिकको बुझाई छ । 

स्वतःस्फूर्त रुपमा निस्किएको स्थानीयको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी लाठी चार्ज गरेको थियो । आफूहरुको शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारी प्रहरी प्रमुख डिल्लीराज बिष्टविरुद्ध पनि नारावाजी गरेका छन् । उनीहरुले एसपी बिष्टलाई नै घटनाको जिम्मेवार भएको आरोप लगाउँदै नारावाजी गरेका हुन् ।

जिल्ला प्रशासन छिर्न खोजेको भिडलाई रोक्न अश्रुग्यास र हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी ज्ञान बहादुर सेटीले बताउनुभयो ।

साथीको परिवारमाथि आशंका    

गएको साउन १० गते साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहकार्य गर्न गएकी निर्मलाको ११ गते बलात्कार गरी हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । स्थानीयले तत्काल घटनामा संलग्न दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए भने स्थानीयको अवरोधका कारण तीन दिनसम्म बालिकाको अत्येष्टि समेत हुन सकेको थिएन । 

साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला घर नफर्किएपछि सबैको ध्यान रोशनीको परिवारमाथि गएको छ । 

निर्मलाकी आमा दुर्गादेवी पन्त अबेरसम्म नफर्किएपछि छोरी खोज्न रोशनीको घरमा जानुभएको थियो । छोरीको बारेमा रोशनीसँग साथीसँग सोधखोज गर्दा उनकी दिदीले आफूलाई हकारेको दुर्गाको भनाई छ । 

‘तिम्री छोरी कहाँ गई हाम्ले ठेक्का लिएका छाैँ’ दुर्गाले भन्नुभयो ‘कतै पोइला गई कि ? आफ्नो माल कस्तो छ हेर्नु छैन । हाम्लाई आरोप लगाउने भन्दै बबिताले मलाई हकारिन ।’

छोरीलाई राख्न आफूलाई झुट बोलेका हुन सक्ने भन्दै आफूले भित्र हेर्न खोजे पनि भित्र पस्न नदिएको उहाँले बताउनुभयो । 

‘पहिलो पटक एक्लै गएकी थिएँ । रोशनीले त निर्मला गइहाली भनिन्’ दुर्गाले भन्नुभयो, ‘भित्र हेर्न त मन थियो तर  बबिताले हकारेपछि त्यसै फर्किएँ ।’ फर्किएर घर पुग्दा पनि निर्मला नआएपछि उहाँ फेरि छिमेकीसँग रोशनीको घर पुग्नुभयो । यो पटक पनि बबिताले त्यसरी नै हकारेपछि उहाँले रोशनीको घरमा निर्मला भए/नभएको हेर्दिनका लागि नजिकको अस्थायी प्रहरी चौकीमा गुहार माग्न गएको बताउनुभयो । 

‘मलाई किन–किन छोरी भित्रै छ जस्तो लागेर रोशनीको घरभित्रै हेर्ने मन थियो’, उहाँले भन्नुभयो, ‘तर प्रहरीले पनि रातिमा अरुको घरभित्र हेर्न मिल्दैन भन्दै टार्यो ।’ सँगै पढ्ने साथी हराउँदा खोज्न जानु त परको कुरा उल्टै परिवारलाई हकारेपछि छरछिमेकीले पनि रोशनीको परिवारमाथि शंका गरेका छन् । 

उनीहरुले साउन ११ गते निम्बुखेडा खोलामा निर्मलाको साइकल भेटिएपछि बबिताले साइकल भेटिए शव पनि त्यहीँ वरपर हुन सक्ने बताएको भन्दै त्यसले अझ सशंकित बनाएको बताएका छन् । निर्मलाको शव भेटिएपछि पनि रोशनी (साथी) र बबिता (साथीकी दिदी) घटनास्थल नगएको परिवार तथा आफन्तको भनाई छ ।

निर्मलाको घटनाको प्रकृति र रोशनी (साथी) र बबिता (साथीकी दिदी) को प्रतिक्रिया पछि परिवार तथा स्थानीय बासिन्दाले उनीहरुमाथि पनि अनुसन्धान गर्नु पर्ने माग गरेका थिए । 

घटनालाई मोड्न खोजेको आरोप

स्थानीय बासिन्दाले प्रहरीले घटनालाई दबाउन खोजेको आरोप लागाएका छन् । उनीहरुले प्रहरी प्रमुख बिष्टले नै निर्मलाको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई जोगाउनका लागि विभिन्न नाटक गरेको बताउने गरेका छन् । 

यसअघि, निर्मलाका आफन्त र स्थानीय बासिन्दाले रोशनी र उनकी दिदीमाथि छानबिन गर्न माग गर्दा एसपी बिष्टले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न नसकिने भन्दै निर्मलाका बुवालाई घटनाको तीन सातापछि किटानी जाहेरी दिन लगाएका थिए । 

स्थानीयले बम परिवार माथि अनुसन्धानका लागि दबाब दिइरहेका बेला प्रहरीले दीलिप बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेपछि स्थितिले अर्कै मोड लिएको छ । प्रहरीले घटनामा बम परिवारको हात नरहेको दावी गर्दै आए पनि सर्वसाधारणले पनि प्रहरीको भनाईलाई विश्वास गरेका थिएनन् । 

आन्दोलन जारी

निर्मलाको हत्या भएको तीन सातासम्म अभियुक्त प्रक्राउ गर्न नसकेपछि चर्को विरोध भएको छ । चार दिनदेखि जिल्लास्थित महिला अधिकारकर्मीले समेत जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन बस्दै आएका छन् । मानव अधिकार आयोगले समेत घटनाको अनुसन्धान थालेको छ । 

उता, स्थानीय बासिन्दाले भने घटना भएलगतै दोषीको पहिचान गरी कारवाहीको माग गर्दै आन्दोलन र विरोध प्रदर्शनका कार्यक्रमलाई यथावत राखेका छन् । बुधबार पनि जिल्ला प्रशासन कार्यालय बाहिर स्थानीयले प्रदर्शन गरिरहेका छन् । भिडलाई तितरबितर पार्न भन्दै प्रहरीले दुई शेल अश्रुग्यास प्रहार गरेको छ । 
    
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया