प्रदेशकाे निर्णय मातहतका कार्यालयलार्इ थाहा छैन: बकर–इदको बिदामा कार्यालय खुल्लै

 भदौ ६, २०७५ बुधबार १३:५७:३७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – बकर–इद (इदुल जोहा) पर्वको अवसरमा प्रदेश-१ सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

तर प्रदेश नम्बर १ को सरकारले गरेको निर्णयलाई सोही प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले भने बिदाको अवज्ञा गर्दै इलामका सम्पूर्ण विषयगत कार्यलयहरु खुल्ला गरिएको छ ।  

बिदाका दिन समेत इलाम जिल्लामा रहेका संघीय सरकार मातहतका विषयगत कार्यालयहरुले आफ्नो नियमित कार्य सम्पादन गरिरहेका छन्  । संघीय सरकारबाट आधिकारिक रुपमा केही जानकारी नआएको भन्दै सार्वजनिक बिदा नदिएको जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयबाट बिदासम्बन्धी आधिकारिक पत्र नआएकोले संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरुमा बिदा नगरिएको हो ।’ 

जिल्लाका जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय,  नापी कार्यालय, जिल्ला हुलाक कार्यालय लगायतले आफ्नो नियमित कार्य सुचारु गरिरहेका छन् । 

पत्र प्राप्त नभए पनि छिमेकी जिल्लाहरुमा सम्पर्क गरी बुझ्दा बिदा नदिएको जानकारी आएकाले बिदा नगरेको अधिकारी तिमल्सिनाको भनाई छ । तर स्थानीय तहको मातहतमा रहेका कार्यालय र शैक्षिक संस्थामा भने बिदा नै गरिएको छ । 

प्रदेश सरकारले मंगलबार एक सूचना जारी गर्दै बकर–इद (इदुल जोहा)को अवसरमा बुधबार सार्वजनिक बिदा दिन सबै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको थियो । 

प्रदेश सरकारले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै २९ चैत २०७४ को मन्त्रिपरिषदको बैठकले निर्णय गरी राजपत्रमा समेत प्रकाशित भएको जानकारी सहित बकर–इद (इदुल जोहा) पर्वमा बुधबार सार्वजनिक बिदा दिन जानकारी गराएको थियो ।

यस अघि साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा समेत प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 

त्यसबेलासमेत प्रदेशभरका विषयगत कार्यालयहरु खुल्ला गरिएको थियो । यस गतिविधिले देशमा संघियता लागू भएपनि आवश्यक समन्वयको अभाव देखिएको छ ।


 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया