प्रधानमन्त्री महाज्ञानी : अम्बाको पात अघि फिक्का भो नुनपानी!

 बैशाख ४, २०७८ शनिबार १०:४७:४२ | मिलन तिमिल्सिना
unn.prixa.net

छिमेकमा फेरि कोरोना छ्याप्छ्याप्ती हुन थालेपछि नेपालीको सातो गएको छ । कतिलाई फेरि लकडाउन होला भन्ने डर छ । कतिलाई चाहिँ लकडाउनकै मात्र रहर छ । कतिलाई व्यापार डुब्ने त्रास छ, कतिलाई कोरोनाको बहानामा व्यापार फस्टाउने आश छ । तर नेपालमा फेरि हुल बाँधेर बस्ने कि दुई चारवटा भाइरसलाई मात्र पठाउने भन्नेमा कोरोना चाहिँ अझै अलमलमा छ ।

नेपालका प्रधानमन्त्री, मन्त्रीदेखि सरकारी निकायका भाषण र योजना सुनेर कोरोना चकित परेको छ । अनि आफूलाई अलिकति पनि भाउ नदिने नेपालीका बानी देखेर कोरोना छिर्नु न पर्खनुको अवस्थामा पुगेको छ । नेपालीका काम देखेर र कुरा सुनेर कोरोना उल्टो तर्सिएको छ ।

नेपालको हावापानी, चालचलन, उपचार पद्धति, सरकारी पारा र नागरिकको चाला देखेर कोरोना अलमलमा छ । आफूसित लड्न सरकार र नागरिक संसारमा चलेकाभन्दा भिन्न कार्यशैलीमा अघि सरेपछि कोरोना पहिले पनि रनभुल्लमा थियो, अहिले पनि उस्तै रनभुल्लमा छ ।

नेपालका प्रधानमन्त्रीलाई पहिलेदेखि पीसीआरमा भन्दा बेसारमा धेरै विश्वास थियो । अहिले यो विश्वास बढेर नुनपानी र अम्बाको पातसम्म पुगेको छ । पहिले प्रधानमन्त्रीले बेसार देखाएर कोरोना तर्साए । अहिले नुनपानी र अम्बाको पातको कुरा गरेर कोरोनालाई झ्यास बनाउँदैछन् । 

कोरोनालाई राम्रोसँग थाहा छ, नेपालका प्रधानमन्त्री ज्ञानैज्ञानका खानी हुन् । उनले भनेपछि भन्यो भन्यो, हैन भन्ने आँट कसको ? दिनदिनै आँखा जुधाएर थर्काउने र राजीनामा गराएर भित्तो पुर्याउँछु भन्ने दाहाल र नेपाललाई त सडकमा पुर्याए, आजसम्म कसैका आँखाले नदेखेको भुसुनोभन्दा सानो अदृश्य कोरोनालाई के बाँकी राख्लान् ! 

नेपालका प्रधानमन्त्री के मात्र होइनन्, सबैथोक हुन् । प्रधानमन्त्री त यसै हुन्, पार्टीका अध्यक्ष पनि हुन् । राजनीति गर्छन्, नेता हुन् । कमेडी गर्छन्, कमेडियन हुन् । खेलका कुरा सबै थाहा छ, खेलाडी पनि हुन् । विज्ञान र आविष्कारका कुरा गर्छन्, वैज्ञानिक हुन् । गीत लेख्छन्, गीतकार हुन् । कविता कोर्छन्, कवि हुन् । सारङ्गी रेट्छन्, बाँसुरी बजाउँछन्, तबला ठोक्छन्, संगीतकार हुन् । गीत गाउँछन्, गायक हुन् । आकाशदेखि पातालसम्मको लेखाजोखा गर्छन्, ज्योतिष हुन् । गरुड पुराणदेखि महाभारतसम्मका कथा सुनाउँछन्, कथा तथा पुराण बाचक पण्डित हुन् । 

हावाको गति र हिमालको चिसो जोडेर वायुको आयु बताउँछन्, पानीको बहावको जाँचबुझ गर्छन्, त्यसैले जलवायु र मौसमका ज्ञाता हुन् । माटोमुनि फलाम, खनिज र पेट्रोलको खानी देख्ने भूगर्भ वैज्ञानिक पनि हुन् ।  
हर्रो, बर्रो, टर्रो, शिलाजित, यार्सागुम्बा, तितेपाती, अदुवा, बेसार, कागतीका केस्राकेस्रा, पातपात, जरो टुप्पो जोडेर घण्टौ प्रवचन दिनसक्ने झारबुटी विज्ञ पनि हुन् । नेपालीमा रोग प्रतिरोधात्मक क्षमता छ भन्ने कुराको आविष्कार गर्ने उनै हुन् ।

कोरोनालाई नुनपानी, जडिबुटी, ढिँडो, अदुवा, बेसारदेखि बेलौतीको पातसम्मले ठिक गर्छ भनेर ठोकुवा गर्न सक्ने विश्व स्वास्थ संगठनका डाक्टरलाई पनि चकित पार्न सक्ने महाडाक्टर हुन् ।

हजार जिब्रा भएको शेष नागले वर्णन गर्न नसकिने अनेक विशेषता र ज्ञानले सम्पन्न हाम्रा प्रधानमन्त्रीको ज्ञान, पाण्डित्य, साधना र चतुष्ज्ञानको महिमा सुनेर कोरोना रन्थनिएको छ । पहिले नूनपानी र बेसार मात्रै भन्थे । अहिले अम्बाको पात भन्न थाले । अलि पछि नेपालमा पाइने सबै झारपात, रुख बुट्यान, धुलो, धुवाँ र ढुङ्गो माटोमा समेत प्रधानमन्त्रीले औषधीय गुण पत्ता लगाए भने कसैले छक्क पर्नु पर्दैन । उनका अघि को टिक्न सक्छ, कोही टिक्न सकिँदैन । त्यसैले कोरोना पनि टिक्न सकिन्छ कि सकिँदैन भनेर गम खाँदैछ । अम्बाको पातलाई उछिनेर प्रधानमन्त्रीले अर्को आविष्कार गर्ने हुन् कि भन्ने कोरोनालाई डर छ ।

सर्वज्ञाता प्रधानमन्त्री रहेको देशका सरकारी निकाय, व्यवसायी र नागरिक झन् चानचुने हुने कुरै भएन । पहिले कोरोनाले अलिअलि तर्साउँदा देश नै ठप्प पार्ने सरकारी निकाय अहिले कोरोनाले झन् बढी तर्साउन थाल्दा पनि आग्रह र सल्लाह दिनमै सीमित छन् । केटाकेटी स्कुल जान सक्ने अवस्था छैन । तर सरकार स्कुल बन्द गर्न डराउँछ, स्कुल नजानु मात्रै भन्छ । स्कुल बन्द भए पो नजानु, खुलेको स्कुलमा कसरी नजानु ?

विद्यार्थी र अभिभावक अलमलमा छन् । भीडभाडमा पूरै रोक लगाए पो मान्छेले टेर्छन्, भीडभाडमा नजानु है मात्रै भनेर मान्छेले कसरी पत्याउँछन् ? नचेतेसम्म टेर्ने बानी कसैको छैन । अझै निर्धक्क भीडभाडमा गएर कोरोनालाई जिस्क्याउनेहरु धेरै छन् ।

त्यसमाथि नेपाली साह्रै बाठा छन् । उनीहरुलाई लाग्छ कोरोना नाक र मुखबाट हैन चिउँडो र कानबाट छिर्छ । त्यसैले, मास्कले नाकमुख छोप्नुको सट्टा चिउँडोमा झुन्ड्याउछन्, कानमा भिर्छन् । नुनपानी, बेसार र अम्बाको पात खाएर बलियो छु भन्दै व्यक्तिगत दूरीको वास्ता गर्दैनन् । साबुनपानीले हात धुन खोज्दैनन् । नेपालीले कोरोनालाई पिँजडामा थुनेर राखेझैँ गरेका छन् ।

नेपालमा कोरोनालाई पहिलेदेखि नै छुट्टै नियम छ । कोरोनालाई सुरुदेखि नै लगाइएको नियम हो - कोरोना निश्चित ठाउँमा जाँदैन, निश्चित बेलामा बाहिर निस्कँदैन र निश्चित मान्छेलाई कोरोनाले छुँदैन । 

अलि पहुँचवाला र टाठाबाठा नेपालीले जे जे भन्यो, खुरुखुरु त्यही त्यही मान्छ । नेपाली अझै पनि ढुक्क छन् कि परिवार, आफन्त, चिनेजानेका र साथीभाइबाट कोरोना सर्दैन । मास्कको आफ्नै नियम छ । मास्क मुखमै लगाउनुपर्छ भन्ने छैन । कानमा, चिउँडोमा, टाउकोमा र हातमै झुन्ड्याए पनि हुन्छ ।

लकडाउनको बेलादेखि नै कोरोना बिहान बेलुका आराम गर्छ, बजार जाँदैन । नेपालीको सजिलो लागि उसले आफैंले तालिका बनाएको छ, बिहान बेलुका चुप लागेर बस्छ, दिउँसो मात्रै बजारतिर जान्छ ।

अझ साना गल्लीतिर त कोरोना पहिलेदेखि नै दिउँसो पनि जान डराएको हो । भित्री बाटो कहाँ जान्छ भन्ने पनि कोरोनालाई थाहा हुँदैन । पत्रकारको कार्ड र सरकारी पास भएका मान्छेसँग पनि कोरोना पहिलेदेखि नै डराउँछ । कार्ड र पास भएका मान्छे सडकमा जुनसुकै बेला हिँडे पनि हुन्छ । कोरोनाले केही गर्दैन ।

अलि पहिलेसम्म आफ्नो गाडी भएकालाई कोरोनाले केही लछारपाटो लगाउन सक्दैन थियो । अब सार्वजनिक गाडीमा ठेलम्ठेल भएर चढ्नेलाई पनि कोरोनाले केही गर्न सक्दैन । 

सरकारले पिँजडामा थुनिसक्यो । बाटोभरि पासो थापिसक्यो । नागरिकले कोरोनालाई जितेको ठानिसके । नेपालमा प्रधानमन्त्री, मन्त्री र सरकारी निकायका भाषण र योजना सुनेर, अनि आमनागरिकका पारा देखेर कोरोना आफैं छक्क छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया