सर्वदलीय बैठक सकियो, एमसीसी पास गर्न नदिएको भन्दै सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश

 बैशाख ४, २०७८ शनिबार १४:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको छ ।

बैठकपछि परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले समस्या बढ्दै गएको कोरोना रोकथाम, एमसीसी, उपचुनाव लगायतका विषयमा छलफल भएको बताउनुभयो । कोरोना महामारी बढ्दै गएकोले थप सजगता अपनाउन र आवश्यक ठाउँमा विद्यालय बन्द गर्नेदेखि थप सजगताका क्रियाकलाप गर्न सबै दलले सुझाव दिएका उहाँले बताउनुभयो ।

यस्तै रिक्त पदमा उपचुनाव गर्ने विषयमा छलफल भएको र नेपाली काँग्रेसले आफ्नो महाधिवेशनको कार्यतालिका नजुध्ने गरी चुनाव गर्न आग्रह गरेको नेता ज्ञवालीले बताउनुभयो । यस्तै संसद्मा अड्किएको एमसीसी परियोजनाका बारेमा गम्भीर छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।

नेपाली काँग्रेस लगायतका दलहरुले एमसीसी पास वा फेल गर्ने अधिकार संसदमा रहेको भन्दै त्यहाँ तत्कालै छलफल गर्नुपर्ने धारणा राखेका उहाँले बताउनुभयो । बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको भन्दै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गर्नुभएको पनि नेता ज्ञवालीले बताउनुभयो ।  बैठकमा नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता सामाजवादी पार्टीको बाबुराम–उपेन्द्र यादव पक्षका नेताहरु सहभागी भएका थिएनन् ।   
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया