बहुमतकाे सरकारसँग निहुँ खाेज्दैनाैँ, नेतृत्व गर्ने अवस्था आए पछि हट्दैनाैँ : सभापति देउवा

 बैशाख ५, २०७८ आइतबार १३:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनुभएको छ । 

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनुभएको हो । तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताउनुभयो । आफूहरू प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि बतउनुभयो ।  

उहाँले भन्नुभयो, ‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरू कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निहुँ खाेज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदका लागि लालायित छैनौंँ। तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ ।’

सभापति देउवाले वर्तमान राजनीति अस्थिर अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया