ओलीले प्रधानमन्त्री बन्न चढेकाे भर्‍याङ लात्तीले पुक्क हानेर सडकमा पुर्‍याइदिए : नेता नेपाल

 वैशाख ६, २०७८ सोमबार १७:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएकाे शैली हिटलर प्रवृति रहेको टिप्पणी गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाण्डाै शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले अपनाएको शैली हिटलरी भएको बताउनुभएको हो ।

नेता नेपालले प्रधानमन्त्री बनाउन जसले भर्‍याए चढाए उसैलाई ओलीले लात हानेर सडकमा पुर्‍याइदिएकाे पनि टिप्पणी गर्नुभयो । यस्तै प्रधानमन्त्री ओलीले केही खास मान्छेहरूलाई किनेर भजनमण्डली बनाएको पनि उहाँले आरोप लाउनुभयो । आफ्नो आदेशअनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि नेता नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रै देशमा कतिपय नजितुन्जेलसम्म ठूला–ठूला कुरा गर्छन्, जितेको भोलिपल्ट आफूलाई सम्राट ठान्ने गर्दछन् । जितेको भोलिपल्ट जुन भर्‍याङ चढेका हुन्छन् त्यो भर्‍याङलाई लात्तीले पुक्क हिर्काएर फाल्दिन्छन् र पुक्क फालिएकाहरू सडकमा पछारिन्छन्, त्यसपछि उनीहरू बिजोग हुने स्थितिमा पुग्न खोज्दछन् । तर आँटिलाहरू फेरि उठ्छन्, जिउमा धुलाहरू हुन्छन् त्यो फेरि फालेर, जिउबाट हटाएर ऊ फ्रेस भएर अगाडि बढ्छ । धुलो टक्टक्याउने र हटाउने, चुनौतीको सामना गर्ने र  उज्यालो भविष्यकाे दिशातर्फ अगाडि बढ्ने, उज्यालो भविष्य के हो त ? राजतन्त्रमा फर्किने होइन, संविधानलाई मास्ने पनि होइन, पुरानो समाजतर्फ जाने पनि होइन, प्रतिगमनतर्फ जाने पनि होइन, अधिनायकवादी चिन्तन र विचारलाई हावी हुन दिने पनि होइन, कसैको व्यक्तिगत लहडको आधारमा चल्ने पनि होइन, व्यक्ति पूजालाई प्रोत्साहन दिने पनि होइन । असल कुराहरू कहीँबाट हुन्छ भने अवश्य पनि त्यसलाई विना पूर्वाग्रह हामीले राम्रो भन्न सक्नुपर्छ । यसअर्थमा राम्रो के हो, नराम्रो के हो आदेश दिएर हुँदो रहेनछ । आदेश दिएर पार लाग्दैन । त्यसको निम्ति खासखास मान्छेलाई किनेर आफ्नो पक्षमा भजनमण्डली बनाएर भजनमण्डलीको माध्यमबाट प्रचार गरेर पनि हुँदैन । त्यो प्रचार होइन त्यो कुप्रचार हुन पुग्दछ र कुप्रचारको अन्त्यमा पतन हुन्छ । हार हुन्छ ।’

नेता नेपालले संसद्ले राम्रो भूमिका निर्वाह गर्दैगर्दा पनि आफ्नो समर्थनमा नभएपछि प्रधानमन्त्री ओलीले संसद्लाई नै घाँडो ठानेको पनि बताउनुभयो । यस्तै आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने कोसिस गरेको पनि उहाँले आरोप लगाउनुभयो । तर नेपाली नागरिकमा सामना गर्ने क्षमता रहेकाले अन्त्यमा गलत प्रवृत्तिको हार हुने नेता नेपालले बताउनुभयाे ।

नेता नेपालले आफूले सकेसम्म सबैलाई सुधार्ने कोसिस गर्ने पनि बताउनुभयो । अहिले आफूले कुनै व्यक्तिको विरोध गरेको नभइ गलत प्रवृत्तिकाे विरोध गरिरहेको पनि स्पष्ट पार्नुभयो । तर प्रतिगमनले फेरि सताएको पनि नेता नेपालले बताउनुभयो । विगतमा राजतन्त्रले सताएको र त्यसलाई पार लगाएपछि गणतन्त्र स्थापना भएको तर पनि प्रतिगमनले नछोडेको अनुभूति भएको उहाँकाे भनाइ छ । तर अन्त्यमा सत्यकै जित हुने विश्वास आफूहरूको रहेको उहाँले बताउनुभयो ।

देशलाई आर्थिक क्षेत्रको प्रगतिमा, आर्थिक समृद्धिको दिशामा लैजान र गरिबी, अभाव, बेरोजगारी यी सबै समस्याको समाधान गर्ने कुरामा सुशासनको अपेक्षा आफूहरूले गरेको नेता नेपालले बताउनुभयो ।

यस्तै समाज परिवर्तनका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँकाे भनाइ छ । समाजका राम्रा कुरालाई प्रोत्साहित गर्ने र नराम्रा कामलाई निरुत्साहित गर्दै सुन्दर समाज निर्माण गर्ने कुरामा लाग्न पत्रकारहरूलाई सुझाव पनि दिनुभयो । देशको विभिन्न कालखण्डमा अधिकारका निम्ति भएको राजनीतिक क्रान्तिमा पत्रकारिता जगतले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया