भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतकै शरणमा पुगे : शेरबहादुर देउवा

 वैशाख ६, २०७८ सोमबार १८:४९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाउनुभएको छ । सोमवार नेपाल विद्यार्थी सङ्घको ५२ औँ स्थापना दिवसकाे अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाउनुभएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताउनुभएको हो । त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको उहाँकाे भनाइ छ । ​

कम्युनिस्टहरू अवसरवादी भएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको सभापति देउवाले बताउनुभयो । आशा नभए पनि सम्भावना भएकाले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भए । भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको शरणमा पुगिसके ।कहाँ छ उनको राष्ट्रवाद । त्यसकारण यिनीहहरू राष्ट्रवादी पनि होइन, केही होइन । यिनीहरू खाली एउटा अवसरवादी हुन् । त्यसकारण हेर्दै जाऔँ परिस्थिति के हुन्छ । मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन् । आर्ट अफ पोसिबिलिटी पनि भन्छन्, त्यसकारण हामीहरू लागिरहेका छौँ ।’

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताउनुभयो । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि उहाँकाे भनाइ छ । त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा धेरै ठूलो चुनौती आएको छ । प्रजातन्त्रमाथि खतरा आएको छ । एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीति हर ठाउँमा हतकडी लगाएर कन्ट्रोल गर्न खोजिरहेको छ । अर्कोतिर महामारीकाे पनि हाहाकार छ । त्यसैले ओलीलाई हटाउन चाहिहाल्छु नि, किन चाहँदैन मैले । कुरा के हो भने स्योरसट हुनुपर्‍याे । त्यो सम्बन्धमा सल्लाह पनि हुँदैछ । अहिले मैले केही भन्न सक्ने अवस्था छैन । झुट बोलेर काम पनि छैन । मैले तपाईँहरूलाई भनिसके प्रचण्डको पार्टीले फिर्ता लिएकै छैन । बहुमतको सरकार छ त्यहाँ । अहिलेसम्म बहुमतको सरकार भन्नु पर्याे नि । माओवादी र एमाले मिलेर बहुमत छ । के गर्ने अब । प्रचण्डले फिर्ता लिएका छैनन् ।’ 

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरूलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढिराखेको बताउनुभयो । त्यसका लागि सरकारी संयन्त्र र शक्तिको भरपुर दुरुपयोग भइरहेको पनि उहाँले बताउनुभयो । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको उहाँकाे भनाइ छ । 

नेता सिटौलाले सरकारबाट प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रतामाथि पनि अङ्कुश लगाउने खतरा बढेको देउवाले बताउनुभयो । सरकार जसरी पनि संवैधानिक प्रबन्धको दुरुपयोग गरी सिङ्गो लोकतन्त्रमाथि प्रहार गर्ने दिशामा अगाडि बढिरहेको उहाँकाे आराेप छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया