‘ओली नेतृत्वकाे सरकारलाई हटाएर लाेकतन्त्र पक्षधरहरूकाे सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्छाैँ’

 वैशाख ७, २०७८ मंगलबार १८:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वकाे वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरूको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको छ । 

मङ्गलवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने गरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्ने लोकतन्त्र पक्षधरहरूको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पार्ने उद्देश्यसहित विसर्जनवादी आक्रमण गरेको नेपालको राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने गरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको परिस्थितिमा यो प्रतिगामी सरकारलाई हटाएर प्रतिगमनका विरुद्ध सङ्घर्ष गर्ने संविधान र लोकतन्त्र पक्षधरहरूको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रूपमा घनिभूतता दिने र छिट्टै यस सम्बन्धमा निष्कर्षमा पुग्ने भन्ने निर्णय लिइएको छ ।’

बैठकले देशमा कोभिड–१९ को दोस्रो लहर आएकाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन सहजीकरणको काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशित समेत गरेको छ । सरकार कोभिड–१९ सङ्क्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भीर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरूलाई लागू गर्न पनि आह्वानसमेत गरेको छ ।

नेता श्रेष्ठले भन्नुभयो, ‘अहिले देशमा फेरि कोभिड–१९ को दोस्रो लहरले तीव्र रूप लिन थालेको छ । यस सन्दर्भमा हाम्रो पार्टीले आफ्नो सम्पूर्ण पार्टीका नेता, कार्यकर्तालाई सहजीकरण र सहयोगका काममा संलग्न भएर सङ्क्रमणबाट बच्न र सिङ्गो समाजलाई सङ्क्रमणबाट बचाउन वा सङ्क्रमितलाई सहयोग गर्न निर्देशित गरेको छ । यस सन्दर्भमा सरकारले आफैले गरेको निर्णयको विरुद्ध आचरण गरेकोमा सरकार कोभिड–१९ सङ्क्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भीर नभएका कुराका निम्ति हामीले दुःख पनि प्रकट गरेका छौँ । आफैले घोषणा गरेका सम्पूर्ण आचरणलाई लागू गर्न सरकारलाई हामीले आह्वान पनि गरेका छौँ ।’

सरकारले संसद्को अधिवेशन अस्वाभाविक र हठात ढङ्गले अन्त्य गरेकोमा स्थायी कमिटीले भर्त्सनासमेत गरेको छ । संसद् अधिवेशन अन्त्यलाई सरकारको अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी कदमको अभिव्यक्तिको रूपमा लिइएको नेता श्रेष्ठले बताउनुभयो ।

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै नेता श्रेष्ठले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको पनि स्पष्ट पार्नु भएको छ । देशमा चुनाव घोषणा हुने र चुनाव नहुने गरी संविधान र लोकतन्त्रमाथि खतरा पैदा हुने स्थिति नआओस् भन्नका लागि आफुहरुले सुविचारित ढङ्गले कदम चाल्ने पनि उहाँले बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो, ‘यो सरकारलाई हाम्रो समर्थन छैन । यो सरकारलाई हामीले कसरी अहिले औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने मात्रै बाँकी छ । यो सरकारलाई विस्थापित गरेर वैधानिक रूपले अर्को सरकार बनाउने प्रक्रियाको पहलकदमी र नेतृत्व गरिरहेको हाम्रो पार्टीले यो सरकारको समर्थनलाई कुनै पनि कोणबाट अगाडि बढाउन सक्दैन । राजनीतिक अन्योलको स्थिति सिर्जना नहोस् । यो देशमा संविधान र लोकतन्त्रमाथि खतरा हुने गरी चुनाव घोषणा हुने र चुनाव चाहिँ नहुने स्थितितिर देश नधकेलियोस् । त्यस कारणले हामीले सुविचारित ढङ्गले कदम चाल्ने पक्षमा मात्रै हौँ । त्यसैले यसमा कुनै भ्रम नराखे हुन्छ ।’ 

केन्द्रीय कार्यालयको तर्फबाट बैठकमा रिर्पोटिङ गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको मुख्य कार्यभार वर्तमान राजनीतिक परिवर्तनको रक्षा गर्नु र देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता देखिएकाे बताउनुभएकाे नेता श्रेष्ठले जानकारी दिनुभयो । वर्तमान सरकारको विस्थापन केवल सरकारको विस्थापन मात्रै नभइ राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्नु पनि रहेको अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै नेता श्रेष्ठले भन्नुभयो ।

‘राजनीतिक परिवर्तनको रक्षा गर्नु हाम्रो मुख्य कार्यभार हो । राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि त्यत्तिकै गम्भिरतापूर्वक अगाडि बढ्नुपर्छ । त्यसको निम्ति मुख्य दोषी देशभित्रैको सत्ताधारी हुन् जसले आफ्नो निहित स्वार्थका लागि राष्ट्रिय स्वाधीनताको पक्षलाई सौदाबाजी वा त्यस्तै प्रकारको खेलको रुपमा प्रयोग गरिराख्या छन् । त्यसकारणले हामी राष्ट्रिय स्वाधीनताको रक्षाको लागि पनि गम्भीर हुनुपर्ने, सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ । यो सबै प्रक्रियामा निमित्त नायक केपी ओलीको सरकार भएको छ । त्यसैले यो सरकारलाई अपदस्थ गर्नु वा अर्को सरकार बनाउनु खालि सरकार फेर्नु मात्रै होइन राष्ट्रिय स्वाधीनताको प्रश्न, लोकतन्त्रको प्रश्नमा आफ्नो सकारात्मक भूमिका खेल्नु र राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्नु पनि हो भनेर उहाँले बैठकमै राख्नुभयो ।’

स्थायी कमिटीको बैठक बुधवार (भोलि) दिउँसो १ बजे फेरि बस्ने बताइएको छ । बुधवारको बैठकमा पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुने नेता श्रेष्ठले बताउनुभयो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया