पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जान्छाैँ : नेतृ झाँक्री

 वैशाख ७, २०७८ मंगलबार १९:३६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेकी नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने बताउनुभएको छ । पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरू मङ्गलवार काठमाण्डाैकाे बानेश्वरमा आकस्मिक रूपमा भेला भइ छलफल गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र त्यहीअनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लडाइँ लड्ने बताउनुभएको हो । 

पार्टीबाट सांसद पद हट्ने गरी कारबाही गरिए के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै नेतृ झाँक्रीले अदालतमा जाने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरूमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी संसदीय दलभित्र लड्छौँ, अदालतसम्म पुग्छौँ, किनभने प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नि त ।’

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानुन र संविधानअनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कुनै स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर स्पष्टीकरण दिएनौँ भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ ।’

नेतृ झाँक्रीले आफूहरूले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गएकाे फागुन २८ गते थपिएका जम्बोरी मान्छेसहितको नेकपा एमाले नचिन्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी फागुन २८ गते थपेका जम्बोरी मान्छेसहितको बैठकै चिन्दैनौँ नि । त्यो नेकपा एमाले चिन्दैनौँ । हामीले २०७५ जेठ २ गते अगाडि, ३ गतेको एकताअघिकाे एमाले, त्यसका पदाधिकारी, त्यसका कमिटी, देशभरिको संरचना, जनसङ्गठनलाई चिन्छौँ र त्यसको बैठक बस्यो भने हामी जान्छौँ । त्योभन्दा यताको हामीलाई अमान्य हुन्छ ।’

नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरूको कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नुभएको छ । दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष ओलीको इच्छा पार्टीबाट छोडेर जाऊन् भन्ने रहेको तर आफूहरू एमालेभित्रै लडेर आफ्नो अधिकार स्थापित गर्ने नेतृ झाँक्रीकाे भनाइ छ । 

पार्टी अध्यक्ष ओलीमा आफू​हरूलाई कारबाही गर्ने अधिकार नरहेको पनि नेतृ झाँक्रीले बताउनुभयो । अध्यक्ष ओलीले गठन गरेको नेकपा एमालेको कमिटी नै विधिसम्मत नभएको उहाँले बताउनुभयो । आफूहरूसहितको केन्द्रीय कमिटीले गरेका निर्णयहरू मान्य हुने तर अवैधानिक तवरले ल्याइएका मान्छेहरूसहितको केन्द्रीय कमिटीले गरेको निर्णय पनि अवैधानिक नै हुने उहाँकाे भनाइ छ ।  

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया