कोरोनाबाट बच्न सबैले नियम पालना गरौँ, कारबाही गर्नुपर्ने अवस्थामा जान नपरोेस्

 बैशाख १०, २०७८ शुक्रबार १५:४१:८ | जनकराज दाहाल
unn.prixa.net

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ३० बुँदे आदेश जारी गरेको छ ।

गएको सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो । आदेशमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ गर्ने, भीडभाड हुने कार्यक्रममा सहभागी हुन नदिने, आवश्यक सुरक्षा सतर्कता अवलम्बन गर्ने लगायतका विषयहरु  समावेश गरिएका छन् । 

यो आदेश जारी गर्नुको कारण हामी सबै बचौँ, कोरोना हाम्रो सामूहिक सत्रु हो,  त्यसैले यसलाई परास्त गर्नुपर्छ भन्ने हो । त्यसका लागि प्रत्येक व्यक्तिले इमान्दार भएर सरकारले दिएका आदेश, निर्देशन र अनुरोधलाई पालना गर्ने कुरालाई तदारुकता देखाउनुपर्छ । 

३० बुँदे आदेशलाई ७७ वटै जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कोभिड १९ व्यवस्थापन समितिले कार्यान्वयनका लागि सहयोग पुर्याउँछ  । स्वास्थ्य मन्त्रालयको टिम, पालिकाका प्रतिनिधिहरुको पनि त्यसमा संलग्नता रहन्छ । 

उहाँहरु सबैको सामूहिक प्रयासबाट ३० बुँदे आदेशलाई कार्यान्वयनका लागि पहल गरिन्छ । त्योसँगै गृह मन्त्रालयले पनि  सरकारले आदेश दिएअनुसार काम भए, नभएकाबारे  अनुगमन पनि गर्दै आएको छ ।  अनुगमनको क्रममा स्थानीयस्तरमा रहेका आमा समूह, स्थानीय युवा समूह, आवश्यकता र प्राथमिकताको आधारमा  टोली बनाएर परिचालन गर्ने काम भइरहेको छ । 

स्रोत साधनले नभ्याउने अवस्था आउनै नदिउँ 

दोस्रो चरणको कोरोना भाइरस पहिलो चरणको तुलनामा खतरनाक रहेको विज्ञहरुले बताउँदै आएका छन् । समयमै नियन्त्रण गर्न सकेनौँ भने अवस्था भयावह पनि बन्न सक्छ । स्रोत साधनले नभ्याउने अवस्था आउन सक्छ । त्यसलै कोरोना नियन्त्रणका लागि प्रत्येक व्यक्तिले इमान्दारितापूर्वक स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ ।  सरकारले पनि  त्यसलाई पालना गर्न आग्रह गर्दैै आएको छ । 

मास्क लगाउन, स्यानिटाइजरको प्रयोग गर्न, पटकपटक साबुनपानीले हात धुन र भीडभाड नगरौँ है  भनेर एक वर्ष अगाडिदेखि भन्दै आएको कुरा हो । त्यसैले निरन्तर भनिरहनुपर्ने आवश्यकता छैन । एक वर्ष अगाडिदेखि यी कुरामा अभ्यस्त हुँदै आएकाले मानिसहरुले यी कुराहरु बुझिसकेका छन् । मात्र इमान्दार भएर लागू गर्नुपर्ने हुन्छ । 

तपाईँ हाम्रै कारणले अवस्था भयावह हुन सक्ने भएकाले सुरक्षा सावधानी अपनाउनुपर्ने आवश्यकता देखिन्छ । सुरक्षा सावधानी इमान्दारीपूर्वक गर्न सकिएन भने कोरोना सङ्क्रमणले अवस्था चिन्ताजनक बन्न पनि सक्छ । भनेको नटेर्ने अवस्था आएमा कारबाही पनि  गर्नुपर्छ ।  त्यो अधिकार सरकारलाई छ । 

तर  कारबाही गर्नुभन्दा सबैले इमान्दारीपूर्वक  सुरक्षा सावधानी अपनाउनु सबैभन्दा उत्तम उपाय हो । सरकार, कानुन र प्रशासनको आँखा छलेर हामीले सुरक्षा सावधानी अपनाएनौँ भने अवस्था भयावह बन्न सक्छ । हाम्रो ज्यानैसमेत जान सक्छ । आफ्नो गल्तीले परिवार र समाजमा थप कोरोना   फैलिने जोखिम हुन सक्छ । कोरोना हाम्रो सत्रु हो । 

सत्रुबाट बच्ने सबैभन्दा उत्तम उपाय सरकारले पालना गर्न भनेका कुराहरुलाई, नियमलाई मान्नु नै हो । सरकारले  गरेको आदेश र नियमलाई परिपालना गर्ने कुरामा हामी चुक्नु हुँदैन । त्यसमा हामी प्रतिबद्ध भएर लाग्नुपर्ने हुन्छ ।

कोरोना भाइरस सङ्क्रमणकैबीच नेपालमा विभिन्न खालका सभा, सम्मेलन र जुलुस नदेखिएका पनि होइनन् । अबका दिनमा यस्ता खालका क्रियाकलाप भएमा सरकार कारबाही गर्न तयार छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गर्ने निर्णय पनि चरणबद्ध रुपमा  गर्दै जाने हो ।

चरणबद्ध रुपमा अरु खालका निर्णयहरु पनि हुन सक्छन्  । एकजनाको बेवास्ताले गर्दा दोस्रो व्यक्तिमा कोरोना सर्न सक्छ । दोस्रोबाट तेस्रो तेस्रो, चौथो हुँदै आवस्था भयावह पनि बन्न सक्छ । 

मानिस थुनेर मात्र समस्याको समाधान हुँदैन  

पछिल्लो तथ्याङ्क हेर्दा अवस्था चिन्ताजनक देखिएको छ । पहिला जेष्ठ नागरिक र दीर्घरोगीमा धेरै सङ्क्रमण देखिएकामा अहिले  बालबालिका पनि जोखिममा भएका तथ्याङ्कहरु सार्वजनिक भएका छन् । यस्तो भयावह अवस्थाबाट हामी सबैजना बच्नु पर्छ नै । 

यसले नियम पालना गर्यो, उसले गरेन भन्नुभन्दा सबै सचेत हुनुपर्छ । यो हामी सबैको दायित्व हो । एक्कासी निर्णय भनेकाले मानिसहरुमा अभ्यासमा समस्या देखिएकाले जात्रा, विवाह र व्रतबन्ध मानिसको भीडभाड भएको होला । तर अब बिस्तारै त्यसमा अभ्यस्त हुँदै जानुपर्छ । त्यसमा निरन्तर लागि पर्नुपर्छ ।   

आग्रह  गर्दागर्दै कसैले नियम पालना नगरेमा कारबाही गर्नतर्फ लाग्नु नै पर्छ । तर कारबाही गरेर, मानिसलाई थुनेर मात्र समस्याको समाधान हुने होइन । स्व-नियन्त्रण नै उत्तम नियन्त्रण हो । तपाईं नियन्त्रण हुनुहोस् भनेर मानिसलाई भन्नै नपरे झनै राम्रो । 

अबको समय एकदमै चुनौतीपूर्ण बन्दै गएको छ ।  मान्छे बिरामी भएर अस्पतालमा शैया नपाउनु भनेको पछिको कुरा हो । त्यो अवस्थासम्म पुग्न नदिनका लागि नै सावधानी अपनाउनुपर्छ । जीवनशैली बदल्नेतर्फ हाम्रो ध्यान केन्द्रीत हुन आवश्यक छ । एकातर्फ नियम पालना गर्नुपर्ने कुराहरु छन् भने अर्कोतर्फ इमान्दार हुनुपर्ने कुराहरु छन् । त्यसैले प्रत्येक व्यक्तिले अहिलेदेखि नै सजगता अपनाउनुपर्ने हुन्छ । 

हाम्रो संरचना सानो खालको छ  । स्रोत साधनको कमी छ  । भोलि व्यवस्थापनमा चुनौती खेप्नुभन्दा अहिलेदेखि नै सावधानी अपनाउनुपर्छ ।  रमाइलो त पछि गर्दा पनि हुन्छ । चुनौती नहोस् भनेर सरकार एकदमै चनाखो भएको छ ।  अहिले सुरक्षाकर्मी परिचालन  गरिएको छ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नागरिक नै सचेत हुनु जरुरी हुन्छ । 

(गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालसँग उज्यालाे सहकर्मी जानुका दुवाडीले गरेकाे कुराकानीमा आधारित )

अन्तिम अपडेट: चैत १३, २०८०

जनकराज दाहाल

जनकराज दाहाल गृह मन्त्रालयका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया