कान्छी हैन, कान्छा महारानीको कथा

 बैशाख १०, २०७८ शुक्रबार १८:२९:४७ | गोपाल गुरागाईं
unn.prixa.net

दरबार, राजा र रानीका रसिला कथा पहिले सुन्नसम्म पाइन्थ्यो, पढ्न पाइँदैनथ्यो । पढ्न पाइने दरबारिया कथामा भक्तिरस ज्यादा हुन्थ्यो । भक्तिरसमा डुब्ने स्वाभाव र उमेर नभएका पाठकको दिमाग रसाउने र रमाउने त सत्ता, शक्ति, आशक्ति र षडयन्त्रका कथामा हो । तर, राजतन्त्र रहुञ्जेल यस्ता कथा भन्न, सुन्न, लेख्न र पढ्न बर्जित थिए । राजतन्त्रको अन्तपछि यो कोटीका बर्जित कथाहरु उपन्यासका रुपमा लेखिन थाले । 

देशबाट महाराज र महारानी हराए । हराएका मान्छेका कथा कुँदेर लेखिएका अक्षरहरु चाहिँ नेपाली साहित्यमा बाक्लिँदै गए । “दरबार बाहिरकी महारानी” संभवतः दबिएर बसेको एउटा बर्जित कथा थियो, जुन राजतन्त्रको अन्त भएको केही वर्षपछि प्रकाशन भयो । गत वर्षको मदन पुरस्कार “महारानी” नामको किताबले पायो । पर्वत राज्यका राजासँग विवाह तय भएर दरबार भित्रिएपछि विवाह हुन नपाएकी रानीको प्रेमको कथा हो मदन पुरस्कार प्राप्त उपन्यास “महारानी” । 

केही वर्ष पहिले दरबार बाहिरकी महारानी चर्चित थियो । गत वर्ष मदन पुरस्कार पाएपछि पर्वत राज्यकी महारानीको कथा चर्चित भयो । आफ्नो वंशलाई नै कमजोर पारेर नेपालको इतिहासलाई अर्को बाटोमा मोडिदिने महारानीको अर्को कथा २०७७ सालमा बजारमा आयो, जस्को नाम हो “कान्छा महारानी” । दरबार बाहिरकी महारानी, महारानी र कान्छा महारानी आख्यान हुन् । आख्यान उपन्यासमा बुनिएका छन् । दरबार बाहिरकी महारानीको कथा महारानी हुन नपाएकी एउटी रानीको कथा हो । महारानी चाहिँ विवाह तय भएर दरबारमा भित्रिएपछि पनि विवाह हुन नपाएकी तर जनताको दिल र दिमागमा बसेकी अविवाहित महारानीको कथा हो । 

तर कान्छा महारानीको कथा अघिल्ला दुई महारानीका कथाभन्दा भिन्न र दमदार छ । यो कथा नेपालको इतिहासको चर्चित कालखण्डकी महारानी राजेन्द्रलक्ष्मीको कथा हो । यो राजतन्त्रको अधोगति र जंगबहादुर राणाको उदयको कथा पनि हो । 

गीर्वाणयुध्द विक्रमको मृत्युपछि कलिलो उमेरमै उनका छोरा राजा भए । नाम थियो राजेन्द्र । राजा हुँदा उनी ३ वर्षका मात्र थिए । उमेर पुगेपछि राजेन्द्रको बिहे भारतको गोरखपुरमा एकै परिवारका दुई दिदीबहिनीसित भयो । दिदीको नाम थियो साम्राज्यलक्ष्मी र बहिनी राजेन्द्र लक्ष्मी, जस्लाई इतिहासमा राज्य लक्ष्मी भनिन्छ । 

राजा राजेन्द्र भए पनि राजकाजमा कमजोर थिए । त्यसैले राजाको सबै अधिकार बडामहारानीको हातमा आयो । बडामहारानी अथवा दिदी साम्राज्य लक्ष्मी । बडामहारानीका दुई छोरा भए सुरेन्द्र र उपेन्द्र । बडामहारानीकी बहिनी राजेन्द्र लक्ष्मी कान्छी महारानीमा सीमित भइन् । कान्छी महारानी राज्यलक्ष्मीबाट जन्मेका छोराको नाम थियो रणेन्द्र र वीरेन्द्र । बडामहारानी बाँचुञ्जेल कान्छी महारानी अथवा राज्यलक्ष्मी दिदीको इर्ष्या र महाराजको प्रेमको आशामा बाँच्न विवश थिइन् । तर, दिदीको मृत्युपछि कान्छी महारानी बडामहारानी भन्दा शक्तिशाली भएर निस्किन् । राजा कमजोर थिए, सत्ता उनको हातमा आयो । त्यसपछि शुरु भयो दिदीको छोरा सुरेन्द्रलाई राजगद्दीमा बस्न नदिने र आफ्नो छोरा रणेन्द्रलाई राजगद्दीको उत्तराधिकारी बनाउने षड्यन्त्र । 

शक्ति, सत्ता र प्रेममा आशक्त महारानीले आफ्नो छोरालाई राजा बनाउने उद्देश्य पूरा गर्न चलेका चाल र बुनेका षडयन्त्रहरुको कथा हो “कान्छा महारानी” । शीवा शाहले अंग्रजी भाषामा लेखेको यो किताबको नाम हो “द अदर क्वीन” । त्यही किताब नेपालीमा अनुवाद हुँदा “कान्छा महारानी” भयो । किताबको अनुवादक हुन् सगुना शाह । अनुवादक सगुना शाहका शब्दमा यो आख्यानको किताबले “..... अतीतको एउटा तिलस्मी कालखण्डमा जमेको धुलो.....” झारि दिएको छ । 

किताब आत्मबृतान्त शैलीमा लेखिएको छ र बनारसको गंगा नदीबाट शुरु हुन्छ, जहाँ राज्यलक्ष्मीले निर्वासित जीवन काट्नु परेको थियो । किताबका पाना पल्टाउँदै जाँदा इतिहासमा धेरै पढिएका र पढिने घटनाहरु सल्बलाउँछन् । विभिन्न तहमा भैरहेको शक्ति संघर्षको रहस्य र रोमाञ्चक कथा बुनाईले पाठकलाई चुम्बकले फलाम ताने झै तान्दै लान्छ । बस्नेत, पाण्डे र चौतरिया भारदारबीच, सहोदर दिदीबहिनी दुई महारानीहरुबीच, युवराज र महाराजाबीच, राजा, रानी र अंग्रेजका दूतबीच भैरहेका अन्तर संघर्ष र षडयन्त्र आँखा अगाडि आउँछन् । कोतपर्वमा रगतको आहालबीच जंगबहादुरले शक्ति र सत्ता हत्याउँछन् । कान्छा महारानीको सपना टुट्छ र शुरु हुन्छ राजा राजेन्द्र र महारानी राज्यलक्ष्मीको निर्वासित जीवन । 

अंग्रेजीमा लेखिएको यो किताव अंग्रेजीमै पढ्ने रहर पूरा गर्न भाषामा निकै ठूलै दख्खल चाहिन्छ । तर, नेपाली अनुवाद पढ्दै जाँदा अंग्रेजी भाषाको भन्दा कुनै मानेमा कमजोर लाग्दैन, बरु दमदार लाग्छ । किताबको भाषा, आख्यान शैली र कथाको तानाबानाले किताबको पहिलो अनुच्छेददेखि नै पाठकलाई बत्तीको पुतली जस्तो लट्ठ बनाउँछ । 

किताबका सबै पाना, अनुच्छेद र वाक्यहरु रित्तिदा पनि किताबको नामाकरणबारे मनमा उठ्ने एउटा प्रश्न चाहिँ अनुत्तरित नै रहन्छ । अंग्रेजीमा यो किताबको नाम हो “द अदर क्वीन” । नेपालीमा यस्लाई अर्की महारानी वा कान्छी महारानी पनि भन्न सकिन्थ्यो । अथवा त्यसो भन्दा अंग्रेजीमा भन्न खोजिएको भाव बलियो हुन्थ्यो होला । तर अर्की र कान्छी नभनी किन कान्छा महारानी भनिएको होला ? भन्ने प्रश्नको जवाफ चाहिँ अब लेखक र अनुवादकबाटै पाइएला भन्ने आशा गरौं । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया