कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ६ वर्ष पूरा भएको छ । भूकम्पले आठ हजार नौ सय ७९ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ घाइते भएका थिए ।
भूकम्पमा भत्किएका घर पुनर्निर्माणको लागि आठ लाख ११ हजार लाभग्राहीसँग सम्झौता भएकोमा पाँच लाख ९३ हजार बनिसकेका छन्, बाँकी एक लाख ५९ हजार बन्ने क्रममा छन् । यस्तै सात हजार पाँच सय ५३ विद्यालय बनाउनुपर्नेमा ६ हजार दुई सय ४६ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
यस्तै नौ सय २० सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नुपर्नेमा चार सय ९३ वटा बनिसकेका छन् । यस्तै ११ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८, चार सय १५ वटा सरकारी भवनमध्ये तीन सय ७४, सुरक्षा निकायका दुई सय १६ वटा भवन मध्ये दुई सय १४ वटा बनिसकेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भयो ।
मानवीय क्षतिको पूर्ति गर्न त असम्भव छ तर भौतिक क्षतिको भने बिस्तारै परिपूर्ति हुँदैछ । घर गुमाएकाहरुले नयाँ घर ठड्याएका छन्, ढलेका सम्पदा उठ्दैछन्, अत्याधुनिक विद्यालय र स्वास्थ्य संस्था बनेका छन, बनिरहेका छन् । पुनर्निर्माणको काम सकिनै लाग्यो भनेर खुसी मनाइरहँदा व्यावहारिकता र मौलिकताका केही विषय ओझेलमा परेका छन् ।
धेरैजसो दुई कोठे घर, एकीकृत बस्तीमा साग लगाउने ठाउँसम्म छैन
गोरखा नगरपालिका-११ का यमबहादुर बसेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान लिएर दुई कोठे पक्की घर बनाउनुभएको छ । सानो, सफा र चिटिक्कको देखिने घर झट्ट हर्दा त गज्जबको देखिन्छ तर कतिपय व्यावहारिक कुरालाई भने नयाँ घरले समेटेकै छैन ।
पुराना घरमा अलि छुट्टै ठाउँमा पूजा कोठा हुन्थ्यो, भान्साको व्यवस्थापन पनि त्यस्तै हिसाबले गरिन्थ्यो । खाद्यान्न राख्नको लागि धन्सार हुन्थ्यो, बार्दली अनेक काममा प्रयोग गर्न पाइन्थ्यो । तर अहिले डिजाइन भएर बनेका घर भूकम्प प्रतिरोधी भए पनि व्यावहारिकता र मौलिकतालाई भने ध्यान नदिइएको बसेलको गुनासो छ ।
‘पहिले ढुङ्गामाटोकै घर भए पनि चार/पाँचवटा कोठा हुन्थ्यो, भान्सा छुट्टै हुन्थ्यो, बार्दली हुन्थ्यो, पाहुना आउँदा राख्न अनि खाद्यान्न राख्न पनि पर्याप्त ठाउँ हुन्थ्यो तर अहिले दुई कोठे घरमा केही मेसो पाइएको छैन’ बसेलले भन्नुभयो ।
त्यही दुई कोठे घर बनाउन पनि सात लाख रुपैयाँ खर्च लागेको बसेलको गुनासो छ । खर्च पनि धेरै अनि मौलिकता र व्यावहारिकता नभएका घरबाट खासै सन्तुष्ट हुन नसकेको बसेलजस्तै धेरै भूकम्प प्रभावितका गुनासो छ ।
‘भूकम्पअघि गाउँ छाडेकाले अहिले गाउँ गएमा घर चिन्दैनन्’
पुरानो शैली र विभिन्न जातजातिका पहिचान झल्काउने घर भूकम्पसँगै बिलाएका छन्, नयाँ बनेका कङ्क्रिटका घरले पुरानो पहिचान बोकेका छैनन् ।
सिन्धुपाल्चोक, गोरखाको लाप्राक लगायतका केही ठाउँमा नमुना बस्ती पनि बनेका छन् तर ती घर वरपर सागपात लगाउने ठाउँ र एउटा कुखुरा पाल्ने ठाउँसमेत नरहेको तथा एउटा घरमा घुरेको अर्को घरमा सुनिने गरेको भन्ने गुनासो पनि आउन थालेको छ । सबैभन्दा पहिले नागरिकलाई बासको जोहो गर्नुपर्ने बाध्यताले पुनर्निर्माणको क्रममा मौलिकता र व्यावहारिकता समेट्न नसकिएको बताउनुहुन्छ, पूर्व सचिव तथा पूर्वाधार विज्ञ किशोर थापा ।
‘पहिले पहिले विभिन्न जातजातिले आफ्नै संस्कृति र मौलिकता अनुसारको घर बनाउँथे, तर भूकम्पपछि बनेका घर एकैनासका छन्, जातजाति अनुसारका छैनन्, घर बनाउँदा प्रयोग हुने सामग्री पनि फरक-फरक हुन्थ्यो तर ढलान प्रविधिबाट घर बनाउँदा सबैेका घर उस्तै देखिन्छन्, भूकम्पअघि गाउँ छाडेकाहरु अहिले गाउँ जाँदा आफ्नै घर नचिन्ने डर छ’ थापाले भन्नुभयो ।
नेपालका गाउँ पर्यटकीय आकर्षणका रहेकोमा भूकम्पपछि पर्यटकीय आकर्षण नहुने गरी एकैनासका र मौलिकता हराएका घर बनेको थापाको भनाइ छ । ‘पहिले छानो पाउनु नै ठूलो कुरा थियो, सबैको ध्यान जस्तो भए पनि घर भए पुग्यो भन्नेतिरै गयो तर अहिले आफ्नो मौलिकता गुमेकामा धेरै चिन्तित भएको देखिन्छ, त्यसैले अब तला थप्ने कोठा थप्ने र घरलाई आफ्नो मौलिकतासँग मिल्ने गरेर स्वरुपलाई परिवर्तन गर्न दिनुपर्छ’ पूर्वाधार विज्ञ किशोर थापाले भन्नुभयो ।
सम्पदाको पुनर्निर्माणमा पनि मौलिकताकै चिन्ता
निजी आवासमा मात्रै होइन सम्पदाको पुनर्निर्माणमा पनि मौलिकताकै चिन्ता छ । मौलिकताकै विषयलाई लिएर पटक-पटक रानीपोखरीको काम रोकियो । स्थानीय र संरक्षणप्रेमीको आन्दोलनका कारण रानीपोखरीमा माटोकै प्रयोग भयो र स्वरुप पनि पुरानै बन्यो । काष्ठमण्डप, बुङ्मती, पाटन लगायतका क्षेत्रमा पनि विवाद उठ्यो र मौलिकता जोगाउने प्रयत्न भयो ।
शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरालाई पनि धेरैले भ्यू टावरको संज्ञा दिइरहेका छन् । पुरानो धरहराको भग्नावशेष जस्ताको त्यस्तै राखेर नयाँ धरहरा बनाएको भन्दै आलोचना पनि भइरहेको छ । तर पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली भने धरहराको मौलिकता जोगाइएको बताउनुहुन्छ ।
‘धेरैले यसलाई व्यापारिक कम्प्लेक्स बनाउन लागेको हो कि भनेर पनि शंका व्यक्त गरेको पाइयो, तर ढुक्क हुनुहोस् यसलाई हामीले भूकम्पको स्मरण गराउने र काठमाण्डौ नियाल्ने संरचना बनाएका छौँ, यहाँ राम्रो पार्क बनाएर मानिसले आनन्दको श्वास फेर्ने ठाउँ बनाउँछौँ’ ज्ञवालीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।