गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस

 बैशाख १३, २०७८ सोमबार १९:४४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । साेमवारदेखि सुरु भएको विशेष अधिवेशनमा २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गर्नुभएको हो ।

अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका दुई जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेपालीले प्रदेश सभामा जानकारी गराउनुभयो । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ मा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएकाे थियो ।

आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीपछि गण्डकी सरकारले चालु हिउँदे अधिवेशन वैशाख १ को मध्यरातदेखि लागू हुने गरी अन्त्य गरिदिएको थियो । वैशाख २ मै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गण्डकी प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै समावेदन गरेका थिए । समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख ६ मा आजका लागि विशेष अधिवेशनको आह्वान गर्नुभएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अहिले कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई सांसद छन् । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने विपक्षी दलहरूले बताएका छन् । अविश्वास प्रस्तावको पक्षमा बहुमत भए गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नु हुनेछ ।   

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया