त्रिदेशीय महिला टी–२० क्रिकेट शृङ्खला : अन्तिम खेलमा आज नेपाल...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – संसदीय समितिले अस्पतालहरूमा अक्सिजन सिलिन्डर र आईसीयूकाे अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको मङ्गलवारको बैठकमा कोभिड–१९ को बढ्दो सङ्क्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भएको थियो । छलफलपछि समितिले अस्पतालहरूमा अक्सिजन र आईसीयूकाे अभावमा बिरामीहरू छटपटिएर मर्ने अवस्था आउन नदिन अक्सिजन सिलिन्डर र आईसीयूकाे व्यवस्था तुरुन्त गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
यस्तै आइसोलेशन, क्वरेण्टीनकाे व्यवस्थापन तीन वटै तहको सरकारको सक्रियतामा तीव्रतापूर्वक गर्न पनि निर्देशन दिएको छ । नेपालगञ्ज, वीरगञ्ज, भैरहवा लगायत भारतसँग सीमा जोडिएका सहर र कोभिड–१९ बढी प्रभावित ठाउँमा दक्ष स्वास्थ्यकर्मी यथाशक्य चाँडो पठाउन पनि निर्देशन दिएको छ । कोभिड बिरामीका लागि सहज रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन, कोभिडका बिरामी कुरुवालाई स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न, कोभिड बिरामीको उपचारमा खटिएका डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
पीसीआर परीक्षण सहज बनाउनुका साथै एसएमएस वा टेलिफोनमार्फत चाँडै नतिजा जानकारी गराउने व्यवस्था मिलाउन, विश्वभर फैलिरहेको नयाँ 'भेरिएन्ट' सहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले २०७८ वैशाख ६ गते जारी गरेको आदेशको कडाइका साथ कार्यान्वयन गराउन पनि निर्देशन दिएको छ ।
आइसोलेशन, क्वरेण्टीन, अस्पताल र स्वास्थ्य–चौकीमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, अस्पतालमा माक्स, स्यानिटाइजरको अति अभाव भएको कारणले त्यसकाे तुरुन्त व्यवस्था गर्नुपर्ने, सरकारी र निजी अस्पतालमा कोभिड–१९ को उपचारमा लाग्ने शुल्कसम्बन्धी नीति बनाइ यथाशीघ्र लागू गर्ने र कारागारमा मानवीय वातावरणसहितको बस्ने स्थिति निर्माण गरी कोरोना र अन्य स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
यस्तै २०७७ चैत १४ गते समितिले दिएको निर्देशनलाई लागू गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । जनशक्ति अभावको पूर्ति गर्न विशेष व्यवस्था गरेर तुरुन्त लागू गर्नुपर्ने, राहत वितरण र स्वास्थ्य सामग्री, औषधिको उचित र न्यायोचित रूपमा वितरण गर्न, सीमा नाका लगायतको ठाउँमा हेल्थ डेस्क र सूचना डेस्क राखी प्रभावकारी बनाउनुपर्ने, सङ्घ, प्रदेश, पालिका र मन्त्रालयसँग समन्वय गर्नुपर्ने, सबै प्रकारका वैकल्पिक उपचार विधिलाई प्रयोग गर्ने सम्बन्धमा पनि समितिले निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।